४ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।
सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि उच्चस्तरीय प्राधिकरण गठन गर्न अध्यादेश ल्याउन लागेकाले प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई सो जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए ।
व्यवस्थापिका–संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत तत्काल सो प्राधिकरण गठनसम्बन्धी कानुन पारित गर्ने भएकाले प्रधानमन्त्री कोइरालाले यसबारेमा पूर्व जानकारी गराएका हुन् ।
भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन असार १० गते हुने अन्तर्राष्ट्रिय दाताको सम्मेलन अघि त्यस्तो प्राधिकरण गठन गर्न आजै बस्ने मन्त्रिपरिषद्को बैठकले सोसम्बन्धी अध्यादेश पारित गर्दैछ । रासस











