३ असार, काभ्रे । काभ्रे जिल्लाको अनुगमन समितिले मापदण्ड नपुगेका क्रसर तथा खानीहरु तत्कालका लागि बन्द गराएको छ । संस्था नवीकरण नगरेका, मापदण्ड अनुसार नचलेका, अनुगमनका क्रममा कागजपत्र माग्दा नदिएका र दर्ता नभएका क्रसर तथा खानी बन्द गराएको हो ।
काभ्रे जिल्लाको विपी राजमार्ग र रोशी खोला किनारामा रहेका ९ क्रसर तथा खानीको अनुगमनको क्रममा कुनैमा मापदण्ड नपुगेका तथा दर्ता नगरेकाहरुलाई तत्कालका लागि बन्द गरिएको छ । बन्द हुनेमा काशिखण्ड–६ मा रहेको भरत घिमिरेले सञ्चालन गरेका पशुपति रोडा ढुंगा उद्योग, भिमखोरी २ मा रहेका राजभक्त प्रधानले सञ्चालन गरेका माँ चण्डेश्वरी एग्रीगेड प्रालि र अनिल र शुनिलले सञ्चालन गरेका गोर्खा एग्रिगेड, ग्याल्जे लामा शेर्पा र उद्धव काफ्लेले स्ञ्चालन गरेका गौरीशंकर रोडा ढुंगा उद्योग, द्धारिका ढुंगानाले सञ्चालन गरेको मनकामना एग्रिगेड प्रालि, श्रीकृष्ण राडी, शंकर अग्रवालले सञ्चालन गरेको पशुपति रोडा ढुंगा उद्योग, ब्लुसन रोडा ढुंगा उद्योग र नाङशाल रोडा ढुंगा उद्योग छन् ।
प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, स्थानिय विकास अधिकारी चीरञ्जिवी तिम्सिना, जिल्ला प्रहरी प्रमुख एसपी पूजा सिंह, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ऋषिराम केसी, जल उत्पन्न विभागका महेश चौधरी, जिल्ला बन कार्यालयका प्रमुख गणेश राय र भु–संरक्षण कार्यालयका मनोज कुमार शाह र पत्रकारहरुको संयुक्त टोलीले गरेको अनुगमनमा कुनैमा मापदण्ड नपुगेको, कुनैमा नविकरण नभएको र कुनैमा खानी दर्ता गरेर क्रसर चलाएको, कुनैमा क्रसर दर्ता गरेर खानी चलाएको पाईएकोले तत्कालका लागि अनुसन्धानको लागि क्रसर तथा खानी बन्द गराएको प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिनुभयो ।
स्थानिय विकास अधिकारी तिम्सिनाले तत्कालका लागि खोजिएको कागजपत्रहरु नभेटिएकोले क्रसर बन्द गराउनुपरेको बताउनुभयो । मापदण्डलाई हेर्दा सञ्चालन भएका क्रसर तथा खानी बन्द गर्नुपर्ने प्रहरी प्रमुख एसपी पूजा सिंहले बताउनुभयो । उहाँले मापदण्ड विपरितका क्रसर तथा खानीहरु पूर्णरुपमा बन्द गर्ने गराउने जानकारी दिनुभयो । सरकारले असार मसान्तसम्म पुरानै मापदण्डले चलाउन दिने भनेको कारण क्रसर तथा खानी उद्योग चलाउन दिन बाध्य भएको स्थानिय विकास अधिकारी तिम्सिनाले जानकारी दिनुभयो ।
बिशेषगरी भिमखोरी २ मा रहेका राजभक्त प्रधानले सञ्चालन गरेका माँ चण्डेश्वरी एग्रीगेड प्रालि र अनिल र शुनिलले सञ्चालन गरेका गोर्खा एग्रिगेडले भिमखोरीमा रहेको भ्याकुरे खोलालाई मापदण्ड विपरित खनेको आरोप समेत लागेको छ । जिल्ला विकास समिति काभ्रेका अनुसार क्रसर सञ्चालन गर्न खोला मिच्न र खन्न पाईन्न । अनुगमनका क्रममा अध्रिकाश क्रसर तथा खानीमा कागजपत्र केहि नहुनु, इन्जिनियरको ब्यवस्था नहुनु, हेल्परहरुले हेल्मेट नलगाई काम गर्नु, स्काईभेटर चलाउने चालकहरुको लाईसेन्स नभएको पाईएकोले मापदण्ड नपुर्याउनजेल सञ्चालन गर्न नदिने प्रहरी प्रमुख सिंहको भनाई छ ।
क्रसर तथा खानीबाट बार्षिक ५ करोड राजस्व उठ्ने गरेको भएपनि असार मसान्तपछि मापदण्ड अनुसार नआए नवीकरण रोक्ने स्थानिय विकास अधिकारी तिम्सिनाले जानकारी दिनुभयो । उहाँले अहिले रोकिएका क्रसर तथा खानीहरुले प्रालिसँग संलग्न कागजात लिएर आए सरकारले तोके अनुसार असार मसान्तसम्म चलाउन नरोक्ने बताउनुभयो ।













