२ असार, काभ्रे । भारतीय योगगुरु रामदेवले नेपालका बालबालिका तस्करी गरेको भन्दै भारत लैजान लागेका बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । भारतको हरिद्वारस्थित आश्रममा लैजान लागिएका बालबालिकालाई मंगलबार काभ्रेको स्थानीय प्रशासनले रोकेको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई संरक्षण र शिक्षाका लागि भन्दै हरिद्वार लैजान पतञ्जली योगपीठ बनेपामा जम्मा गरिएको थियो । तर, अनुमति नलिएरै बालबालिका भारत लैजान लागेको थाहा पाएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकालले भने -‘२२ जना बालबालिका आज हामीले सम्वन्धित अभिभावकलाई जिम्मा लगाएका छौं ।’
बालबालिका जम्मा गरेको थाहा पाएपछि स्थानीय प्रशासनले जानकारी लिएको थियो । तर, पतञ्जली योगपीठ बनेपाले कुनै कानुनी प्रक्रिया पूरा गरेको नपाएपछि स्थानीय प्रशासनले बालकल्याण समितिमा बुझाउन भनेको थियो । मंगलबार स्थानीय प्रशासनले बालकल्याण समिति, प्रहरीलगायतको उपस्थितिमा बालबालिकाहरु अभिभावकलाई जिम्मा लगाएको छ ।
प्रजिअ ढकालका अनुसार पतञ्जलीले गलत मनसायले बालबालिका लैजान लागेको भने नपाइएको बताए । कानुनी प्रक्रिया पूरा नगरी वालबालिका विदेश लैजान खोज्ने गैरकानुननी भए पनि बाबा रामदेवको पतञ्जलि योगपीठको नियतमाथि आशंका गर्न नसकिने ढकालको भनाइ थियो । पतञ्जलि योग पीठले भूकम्पपछि विभिन्न ठाउँमा राहत पनि बाँडेको, पीडाको समयमा स्याहार गरेको र कुनै गलत मनसायले बालबालिका जम्मा पारेको नदेखिएको ढकालले दोहोर्याए ।











