ताप्लेजुङका पहिरोपीडितको दर्दनाक कथा
३१ जेठ, ताप्लेजुङ / आर्थिकोपार्जन गरी परिवारलाई सुख दिने सपना बोकेर ४ वर्ष अघि खाडी मुलुक दुबई पुगेका ताप्लेजुङको साङथाक्रा–३ का भक्तबहादुर मादेन अहिले विक्षिप्त छन् । सम्पत्ति कमाएर जीवन बदल्ने अठोट लिएर विदेश गएको ४ वर्षपछि फर्किदा मादेनले आफूलाई एक्लो पाए । दुबईबाट हालै काठमाडौँ आइपुगेका मादेनले परिवारका सबै सदस्य गुमाएका हुन् ।
अहिले विदेशबाट ल्याइएको एउटा झोला मात्र मादेनसँग छ । ‘मादेनकी श्रीमती र छोरा पहिरोले खायो’, स्थानीय बुद्ध मादेनले टेलिफोनमा भने – ‘यो खबरले भक्तबहादुर अर्धचेतमा छन् ।’ बुधबार साँझ बिर्तामोडमै रहँदा उनले श्रीमती र छोरासँग कुरा गरेका थिए । ३ दिनपछि घर पुग्ने योजना बनाउँदै सुतेका उनी बिहीबार ताप्लेजुङ सदरमुकाम पुग्दा छागाबाट खसे । दिनभर फोन लागेन, सोलारमा खराबी आएर मोबाइल चार्ज हुन पाएन भन्ने ठाँने’, मादेनले बेदना मिश्रित स्वरमा भने – ‘तर, राति नै पहिरोले गाउँ पुरेछ ।’
शनिबार बेलुका गाउँ पुगेका मादेन अत्यधिक पीडाका कारण रुन पनि सकेनन् । छोराको शव फेला परे पनि श्रीमतीको शव अहिलेसम्म भेटिएको छैन । घरमाथिको भीर खसेर गाउँ पुरिएपछि ज्यान गुमाएका साङ्थाक्रा गाविस–१२ जनामध्ये अधिकांशको शव फेला परिसकेको छ । ‘बाँकीको हामी खोज्दै छौँ, प्रहरीले सहयोग गरिरहेको छ’, भक्तबहादुरका छिमेकी समेत रहेका बुद्धले भने – ‘भेटिने आश छ, तर माटो धेरै हटाउनु पर्ने देखिन्छ ।’
विदेशमै हुँदादेखि छोरालाई राम्रो स्कुलमा पढाउने र झापामा लिएर भिट्टामा घर बनाएर बस्ने सपना अब कहिल्यै पुरा नहुने भएको छ । परिवारको खुसीका लागि विदेश गएका मादेनले ४ वर्ष पछि फर्किदा पनि कसैलाई भेट्न पाएनन् । ‘नभेट्न नै लेखेको रहेछ, के गर्ने !’, उनले भने – ‘तर, एकपटक भेट्न पाएको भए मन बुझाउने ठाउँ हुन्थ्यो ।’ मादेनको घर साविकको भन्दा १ मिटर तल पुगेको छ । घर पहिरोले क्षतविक्षत भएको छ । घरबारी पनि खोल्सामा परिणत भएको छ । त्यही भग्नावशेषमा उनका छिमेकी र आफन्त शव खोज्न जुटिरहेका छन् ।
मादेन मात्रै होइन, गत बुधबार मध्यरातमा गएको पहिरोले पुरिएर ज्यान गुमाएका ताप्लेजुङका ६ वटै गाउँ विकास समितिमा अहिले शोक छन् । लिवाङ, खोक्लिङ, लिङ्तेप, थिङ्लाबुलगायतका गाविसमा पहिरो जाँदा ३८ जनाको मृत्यु भएको छ । अन्यको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । लिवाङसहित विभिन्न गाविसमा ५ सय जना विस्थापित भएका छन् ।
(तस्वीर सौजन्य : अशोक अधिकारी)












