भूकम्प र पहिरोपछि अहिले अर्को विगविगी
३१ जेठ, सिन्धुपाल्चोक । भूकम्प गएको दुई महिना पुग्न लाग्दा समेत सिन्धुपाल्चोकका दुई विकट गाउँमा कुनै पनि उद्धार तथा राहत टोली पुग्न नसकेको जानकारी सिन्धुपाल्चोकका सभासद् तथा एमाओवादी नेता अग्नि सापकोटाले दिएका छन् । पत्रकार क्रन्दन चापागाईंसँग नेपाल वान टेलिभिजनमा अन्तरवार्ता दिंदै सापकोटाले सिन्धुपाल्चोकका उत्तरी गाउँ दिपु र सान्मालुङका जनताको अवस्था अहिलेसम्म कस्तो छ भन्ने जानकारी नै हुन नसकेको खुलासा गरे । ती दुवै गाउँमा जाने मार्गहरु पहिरोका कारण भत्किएको र गाउँसँगको सम्बन्ध अहिलेसम्म जोडिन नसकेको उनले बताए ।
दीपु र सान्मालुङ सापकोटा निर्वाचित क्षेत्र नं. २ मै पर्दछन् । ती गाउँमा सेनाका हेलिकोप्टरले माथिबाट केही खाद्यान्न खसालिदिएको तर हेलिकोप्टर समेत त्यहाँ अवतरण गर्न नसकिएको उनको भनाइ थियो । आफूहरुले ती दुई गाउँतर्फ टोली पठाएको र त्यो टोलीले आइतबार साँझसम्म खबर पठाउन सक्ने उनले बताए ।
भूकम्प र पहिरोले ध्वस्त पारेको सिन्धुपाल्चोकमा यही समय अनौठो किरा समेत देखा परेको सापकोटाले बताए । विगतमा कहिल्यै नदेखिएको किराले मकै तथा धानको विऊ सखाप पारेको खुलासा उनले गरे ।
सिन्धुपाल्चोकका केही गाउँहरुलाई यथास्थानमा स्थापित गर्न सकिने तर करिब २५ गाउँलाई अन्यत्रै सार्नुपर्ने निक्र्योल भएको सापकोटाले बताए । सिन्धुपाल्चोकका ध्वस्त भएका वस्तीका वासिन्दाहरु त्यहाँबाट विस्थापित भएर काठमाडौंको निलवाराही, चुच्चेपाटी, गोकर्ण लगायतका क्षेत्रमा टेन्ट र पालमा गुजारा चलाइरहेका छन् । पशुवस्तु त्यतिकै छाडेर मानिसहरु काठमाडौं आएपछि सिन्धुपाल्चोकका गाउँहरु सुनसान बनेका छन् ।
भूकम्पपछि जिल्लामै उद्धार र राहतमा निरन्तर लागिरहेका सभासद् सापकोटाले एउटा गाउँको कथा यसरी सुनाए ः हामी डोरीको सहायताले एउटा गाउँमा पुग्यौं । गाउँको तल र माथि दुवैतिर पहिरो गएकोले त्यस गाउँमा पुग्न कठिनाइ थियो । त्यस गाउँमा एउटी बुढी आमालाई हामीले भेट्यौं । उहाँका छोराछोरी र अन्य परिवार काठमाडौं गए पनि पशुवस्तुको मायाले उहाँ एक्ले गाउँमा बस्नुभएको रहेछ । उहाँले आफ्ना पशुवस्तुलाई कस्ता अभागी रहेछौ भन्दै मायाले पिटेको दारुण कथा देख्नुपर्यो ।
सभासद् सापकोटाले असारसम्ममा सिन्धुपाल्चोकका भूकम्पपीडितलाई नगद र जस्ता पाता दिनका लागि कोसिस भैरहेको समेत बताए ।











