चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिको संवैधानिकताबारे राष्ट्रपतिले चासो देखाएपछि प्रधानमन्त्री सुशील कोइराला झस्किएका छन् । असन्तुष्ट दलहरुले राष्ट्रपतिलाई भेटेर गुनासो गरेपछि प्रधानमन्त्री कोइराला पनि उनीहरुलाई भेट्न बोलाएका थिए । बढी शंका नगर्न भन्दै कोइरालाले तमलोपा, फोरम नेपाल, सद्भावना पार्टी, संघीय समाजवादी पार्टी र तराईमधेस सद्भावना पार्टीका शीर्ष नेताहरूसँग संघीयतासहितको संवीधान जारी गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।
भेटपछि प्रधानमन्त्रीको भनाइ उदृत गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, कांग्रेस संघीयतासहितको संविधान जारी गर्ने पक्षमा छ। १६ बुँदे सहमतिमा धेरै आशंका नगर्नुहोस्।’
तमसपाका उपाध्यक्ष रायका अनुसार गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेबमोजिम संघीयतासहितको संविधान जारी गर्ने प्रतिबद्धता प्रधानमन्त्री कोइरालाले गरेका थिए। संघीयता थाती राखेर संविधान जारी भएमा आफूहरूलाई अस्वीकार्य हुने जानकारी पाँच दलका नेताहरूले प्रधानमन्त्रीलाई दिएको रायले बताए।
पाँच दलका शीर्ष नेताहरूले अन्तरिम संविधानअनुसार नामांकन र सीमांकनसहितको संविधान जारी गर्नुपर्ने बताएका थिए। आठ वर्षमा आठ प्रदेशमा सहमति गर्नुभयो, नामांकन र सीमांकनमा कति वर्ष लाग्छ भन्ने जिज्ञासामा प्रधानमन्त्रीले भनेका थिए, ‘चाँडो हुन्छ र पूर्ण संविधान जारी हुन्छ।’
यी पाँच दलले संविधानसभाको शुक्रबार बसेको बैठकमा फास्ट ट्र्याकबाट संविधान जारी गर्न भएको १६ बुँदे सहमतिलाई अस्वीकार गरेका थिए।











