२५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चामा चार दल भित्र भएको सहमति प्रति चर्को विवाद भएको छ ।
सोमबार दिउँसो बसेको मोर्चाको बैठकमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दलहरुबिच भएको सहमति सुनाएपछि विवाद भएको हो । बैठकमा प्रचण्डले ८ प्रदेश सहित नामांकन प्रदेशसभा र सीमांकन संघीय आयोगले गर्ने सहमति भएको जानकारी गराउनुभएको थियो । तर बैठकमा मोर्चामा आवद्ध २८ दलले भने सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने धारणा राखेका छन् । असन्तुष्ट पक्षले प्रचण्डले आफुहरुको कुरा नसुनेको आरोप लगाएका छन् । बैठकपछि मोर्चामा आवद्ध मधेसी र जनजाति दलहरुले संयुक्त पत्रकार सम्मेलन गरेर चार दलबीच कुनै सहमति भए मान्य नहुने चेतावनी दिएका छन् ।
असन्तुष्ट दलहरुले गरेको पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले कुनै सहमति भए त्यो चार दलको मात्र हुने र ३० दलीय मोर्चालाई मान्य नहुने बताउनुभयो । तमलोपा सहअध्यक्ष त्रिपाठीले चार दलबीच भएको भनिएको ८ प्रदेशको सहमति संघीयता र परिवर्तनमाथिको निर्मम प्रहार भएको धारणा व्यक्त गरे ।
पत्रकार सम्मेलनमा एकीकृत माओवादी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेकका मधेसी दल र जनजाति पार्टीका नेताहरु उपस्थित थिए ।











