२३, जेठ, काठमाडौं । गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्पले शैक्षिक क्षेत्रमा पुर्याएको क्षति र बालबालिकाको शिक्षाका बारेमा जानकारी लिन नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी नेपाल आएका छन् ।
दुइ दिने नेपाल बसाइका क्रममा उनले भूकम्पपछि नेपालका शैक्षिक क्षेत्रको अवस्था र विद्यार्थीहरुको अवस्थाका बारेमा जानकारी लिएरबालबालिकाको शैक्षिक अधिकारलाई सुनिश्चित गर्न प्रयास थाल्ने जानकारी दिएका छन् ।
शनिवार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले पत्रकारसँग नेपालमा गएको भूकम्पपछि शैक्षिक संस्थामा ठूलो क्षति पुगेकोमा दुःख व्यक्त गर्दै बालबालिकाको शिक्षा आर्जन गर्ने वातावरण बनाउन सरोकारवालासँगको छलफलपछि आफुले प्रयास थाल्ने जानकारी दिए ।
‘भूकम्पपछि बालबालिकामा देखिएको त्रासले शिक्षा आर्जन गर्न उनीहरुमा एकप्रकार अन्यौलको स्थिति पाएको छु,’ उनले भने, ‘भूकम्पपछि भत्किएका शैक्षिक संरचनाको मर्मतसम्भार र पुनर्निर्माणका लागि नेपाल सरकारकासाथै सरोकारवालाहरुको अग्रसरता देखिनुपर्छ, म पनि बालबालिकाकै क्षेत्रमा क्रियाशील भएको नाताले उनीहरुको अवस्था बुझ्न नेपाल आएको हुँ ।’
विमानस्थलबाट एमाओवादीका नेता डा बाबुराम भट्टराइलाई भेट्न सिधै सानेपास्थित निवासमा पुगेका उनले भट्टराइसँगको भेटमा बालबालिकाको शिक्षा आर्जन गर्ने अवसरलाई सम्बोधन गर्न नेताहरुले विशेष ध्यान पुर्याउन आग्रह गरे । भट्टराइसँगको भेटमा उनले भने, ‘शैक्षिक क्षेत्रका भौतिक संरचनाको पुनर्निर्माणमा नेपालका राजनीतिक दल प्रतिवद्ध भए रकमको अभाव हुनेछैन् ।’
उनले सरकार र राजनीतिक दलहरुले भूकम्पप्रभावितहरुका लागि आएको रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउने हो भने शैक्षिक क्षेत्रका भौतिक संरचना निर्माणका लागि आवश्यक सहयोग जुटाउन सकिने जानकारी गराए । प्रत्यूत्तरमा भट्टराइले सरकारी संयन्त्र बनिसकेकाले रकम दुरुपयोगको कल्पना गर्न नहुने भन्दै यतिवेला सबै क्षेत्रको सहयोग आवश्यक भएकोमा जोड दिए ।
नेता भट्टराइसँगको भेटपछि भूकम्पले पाटन दरवारस्क्वायर क्षेत्रमा पुर्याएको क्षतिको अवलोकनका लागि सत्याथी निस्किएका थिए । पाटन दरवारस्क्वायरमा भत्किएका धार्मीक संरचना हेरेपछि उनले भने, ‘यो विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो, यसको पुनर्निर्माणका लागि यूनेस्कोलगायतका अन्तर्राष्ट्रिय संस्थाहरुलाई आग्रह गर्न सकिन्छ, त्यसमा मेरो पनि प्रयास हुने छ ।’
पाटन दरवारस्क्वायरको अवलोकन गरिसकेपछि उनी सिधै वसन्तपुर दरवार क्षेत्र पुगेर केही समयअगाडि यस क्षेत्रको अवलोकन गरेको स्मरण गरे । उनले भने, ‘म योभन्दा अगाडि यहाँ आएर काष्ठमण्डप मन्दिरको दर्शन गरेको थिएँ, तर आज यो क्षेत्र भग्नावशेष पाएपछि ज्यादै दुःखी बनाएको छ ।’
भूकम्पले भत्काएका शैक्षिक संस्थाहरुको पुनर्निर्माण र बालबालिकाको शिक्षा आर्जन गर्ने अधिकारलाई सुनिश्चित गर्न उनले भरमग्दूर प्रयास थाल्ने बताए । शनिवार नै सत्यार्थीले प्रधानमन्त्री सुशील कोइराला, काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा र मुख्यसचिव लिलामणी पौडेलसँगको भेटमा पनि शैक्षिक स्थितिमा कुनै कमजोरी आउन नदिन आग्रह गरेका छन् ।
भेटमा प्रधानमन्त्री कोइराला, नेता देउवा र मुख्यसचिव पौडेलले बालबालिकाको पठकपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए । उनीहरुले सरकारले भूकम्पपछि पाउने सहायता रकममा कुनै किसिमको गलत प्रयोजन नहुने विश्वाससमेत सत्यार्थीलाई दिलाएका थिए ।
ती भेटघाटमा सत्यार्थीको चिन्ता भनेकै बालबालिकाको अधिकार सुनिश्चित गरी उनीहरुको शिक्षा प्राप्ति गर्ने विषयमा गम्भीर बन्न सबैको साझा प्रयास आवश्यक रहेको थियो । नेपाल सरकारले विद्यालय पुनर्निर्माण र बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार सुनिश्चित गर्न आवश्यक सहयोगका लागि आफुलाई विना हिच्किचाहट भन्न आग्रहसमेत गरेका थिए । ‘मैले लामो समयदेखि बालबालिकाकै क्षेत्रमा काम गर्दै आएको र हालैमात्र नोवेल पुरस्कार प्राप्त गरेकाले म विश्व समुदायसँग आग्रह सक्छु,’ उनले भने, ‘तर त्यसका लागि सरकारले मलाई विश्वासिलो वातावरण सिर्जना गर्नुपर्छ ।
नेपाल बसाइका क्रममा उनले आइतवार काभ्रे जिल्लाका भत्किएका शैक्षिक संस्थाहरुको अध्ययन/अवलोकन गर्ने र आवश्यक परे शैक्षिक संरचनाको पुनर्निर्माणका लागि केही दिनभित्रै हुने आफ्नो पश्चिमा राष्ट्रको भ्रमणका क्रममा आह्वानसमेत गर्ने जनाएका छन् । उनलाई यसअघि सभासद् तथा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस)नामक संस्थाका अध्यक्ष डिल्लीबहादुर चौधरीले विपद्को यो वेलामा बालबालिकाको क्षेत्रमा केही गर्न आग्रह गरेपछि भूकम्पपछि नेपाल आएका हुन् ।











