२२ जेठ, काठमाडौं । भूकम्पले भवन भत्काएर लाखौं विद्यार्थीको पठनपाठनमा समस्या आइरहेका वेला शिक्षा मन्त्री चित्रलेखा यादव भने परिवारसहित विदेशमा छिन् । विद्यार्थीहरुको समस्या समाधान गर्नुपर्ने अवस्थामा शिक्षामन्त्री यादव श्रीमान र छोराछोरी लिएर विदेश शयरमा मस्त आलोचनाको विषय बनेको छ । ‘विपदका बेला विदेश घुम्न नजान प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएका निर्देशन अवज्ञा गर्दै यादव महाभूकम्पपछि तीन देश घुमिसकेकी छिन्
पछिल्लोपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धी कार्यक्रममा भाग लिन डेनमार्क पुग्नुभएकी यादव २४ गते मात्र फर्कँने कार्यक्रम छ । पछिल्लो भ्रमणका लागि मन्त्री यादवले गत बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालासँग अनुमति मागे पनि प्रधानमन्त्रीले अनुमति दिएका थिएनन् ।
वैशाख १२ को भूकम्पलगत्तै १३ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाले विपदमा सहयोग हुने कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा विदेश नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए । असारसम्म विदेश नजान प्रधानमन्त्री कोइरालाको विशेष निर्देशन थियो ।
६ हजारभन्दा बढी विद्यालय ध्वस्त भएको र हजारौं विद्यार्थीको पढाइ बिथोलिएको समयमा शिक्षामन्त्रीले आफूसँग असम्बन्धित कार्यक्रममा भाग लिन कहिले श्रीमान, कहिले छोरी त कहिले छोरालाई लिएर घुमिरहेकी छिन् । मन्त्री यादव वैशाख १२ को भूकम्पपछि पहिले कोरिया, त्यसपछि चीन र अहिले डेनमार्क पुगेकी छिन् ।
नजाँदा पनि हुने कार्यक्रममा शिक्षामन्त्री परिवारसहित विदेश गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।












