जेठ २१, काठमाडौं । भूकक्पले घर भत्किएर खुल्ला जमिनमा बस्न बाध्य मानिसहरुका लागि विहीबार विहानै परेको वर्षाले झनै समस्या थपेको छ । मुस्किलले शित छेक्ने पाल पाएकाहरुलाई पनि हावा र पानी भैदिंदा मानिसहरु हतास भएका छन् । विहीबार विहानको वर्षाले नेपालमा मनसुन सुरु भएको अनुमान गर्दै पीडितहरु चिन्तित बनेका छन् तर विहीबारको वर्षा मनसुन नभई क्षणिक वर्षा मात्र भएको मौसमविद्हरुले बताएका छन् । विहीबार ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । विहीबार विहान काठमाडौं लगायतका क्षेत्रमा परेको पानी केहीबेरमै रोकिएर मौसम खुल्ने सम्भावना रहेको पौडेलले बताए ।
भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको प्रभावका कारण मौसम बदली भएको उनले बताए । विहीबार मध्य र पश्चिमको पहाडी क्षेत्र र पूर्वमा क्षणिक वर्षा हुनेछ । मौसम बदली भएसँगै अघिल्ला दिनको तुलनामा आज केही शितल भएको छ । तर तापक्रम भने नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् पौडेलले अहिलेको अवस्था हेर्दा मनसुन भित्रन अझै केही दिन लाग्ने अनुमान गरिएको दोहोर्याए ।
मनसुनको लागि भारतबाट जलवाष्पयुक्त हावा नेपालको पूर्व हुँदै भित्रनुपर्ने हुन्छ, जुन अहिले देखिएको छैन । मनसुन नभित्रँदा गर्मी बढेको हो ।











