१८ जेठ, काठमाडौं । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला ठगी र महिलाका अगाडि अपशब्द बोलेको आरोपमा पक्राउ परेका छन् ।
एरिना क्लब बुटवलका पदाधिकारीले मंगलबार रकम ठगी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर धमलालाई प्रदर्शनीमार्गस्थित महानगरीय प्रहरी सहायता कार्यदलमा बुझाएका थिए ।
प्रहरीको रोहबरमा सार्वजनिक रुपमा माफी मागेपछि धमलालाई छाडिएको एरिना क्लबका अध्यक्ष आशिष सुवेदीले जानकारी दिए ।
आफूहरुले पत्रकार सम्मेलनका लागि समय लिएकामा धमलाले अर्कै कार्यक्रममा उपस्थित गराएर भिडका रुपमा प्रयोग गरेको र १० हजार रुपैयाँ मागेपछि विवाद भएको सुवेदीले बताए ।
सुवेदीले भने, ‘हामीलाई पत्रकार सम्मेलनका लागि १२ बजेको समय दिइएको थियो । तर एक बजेसम्म कुराएर पछि अर्कै कार्यक्रममा पत्रकारका रुपमा सहभागी गराए र १० हजार रुपैयाँ माग्नुभयो ।’ पत्रकार सहभागी नभएको कार्यक्रमबापतको पैसा नदिने बताएपछि धमलाले छाडा शब्दले गालीगलौज गरेको आरोप सुवेदीले लगाए ।
‘
‘धमलाजी महिलाहरुका अगाडि अपशब्द प्रयोग गरेर गालीगलौजमा उत्रिनुभयो’, सुवेदीले भने, ‘हामीले प्रहरीको जिम्मा लगाउन खोजेपछि गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफी माग्नुभयो ।’
भूइँचालोका कारण पुतलीसडकस्थित कार्यालय बस्न नमिल्ने गरी भत्किएपछि धमलाले रिपोर्टर्स क्लब भृकुटीमण्डपमा पालमुनि सञ्चालन गर्दै आएका छन् ।
धमलाले रकम उठाएर साक्षात्कार कार्यक्रम गर्दै आएका छन् । मिडिया बोलाएर खबर प्रसारण तथा प्रकाशन गरिदिन्छु भन्दै पीडितहरुसँग समेत रकम असुल्ने गर्दछन् । अर्थमन्त्री डा. रामशरण महतको भ्रष्ट्राचार काण्ड र उनका सहयोगी रमेश महतको काण्ड ढाकछोप गर्ने गरी रकम लिएर नै साक्षात्कार गरेका थिए । उनको यस्तै शैलीका कारण कान्तिपुर लगायतका ठूला मिडियाहरु भने उनको साक्षात्कारको समाचार संकलन गर्न जाँदैनन् ।
धमला यसअघि व्यापारीलाई अपहरणको धम्की दिएको आरोपमा जेल परेका थिए र सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई मुद्दा फिर्ता लिन दवाव दिएकी दिइन् । सुजाता कोइराला र मधेसी दलले समेत दवाव दिएपछि नेता नेपालले धमलाको मुद्दा फिर्ता लिएका थिए ।











