१८ जेठ, काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावित दुई दर्जन जिल्लामा ६ हजार बढी अस्थायी घर टहरा बनाइएको जनाएको छ ।
पार्टी मूख्यालय बल्खुमा सोमबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीका स्वयंसेवकहरुले २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा दैनिक करिव एक हजारका दरले घर टहरा बनाइएको दावी गरे ।
ती जिल्लाहरुमा एमालेका दैनिक २८ हजार स्वयंसेवकहरु परिचालन भइरहेको पनि जनाइएको छ ।
एमाले स्वयंसेवक परिचालन समितिका संयोजक गोकर्णराज विष्टले एमालेका सेवकहरुले सुरु गरेको अभियानले पुनर्निर्माणमा आशा जगाएको बताए ।
एमाले विद्यार्थी संगठन अनेरास्ववियूले पनि २ सय क्याम्पस र उच्च माध्यमिक विद्यालयका साथै ५७ वटा विद्यालय भवन निर्माण गरेको दाबी गरेको छ ।
एमालेले सचिव गोकर्ण विष्ट संयोजक रहेको स्वयंसेवक परिचालन समिति गठन गरी जेठ १० गतेदेखि असार १० गतेसम्म राहात, पुनर्वास तथा पुननिर्माण अभियान सञ्चालन गरिरहेको छ ।











