१७ जेठ, काठमाडौं । राप्रपा नेपालले भूकम्पबाट शान्तिका लागि महायज्ञ गरेको छ । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको महाभुकम्प र त्यसपछिका पटकपटकका पराकम्पन लगायत दैवी बिपत्तिबाट राष्ट्रमा आइपरेको महासंकटबाट मुक्ति पाउनका लागि भन्दै आइतबार पशुपति बनकालीमा बृहत शान्ति महायज्ञ आयोजना गरेको हो ।
महायज्ञको प्रमुख कर्ताका रुपमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेको जानकारी महामन्त्री चन्द्रबहादुर गुरुङले दिए। मानसिक शान्ति तथा विपत्तिविरुद्ध तेत्तीस कोटी देवताको आह्वान गर्दै सन्त्रास हटाउन महायज्ञ गरिएको समेत गुरुङले जानकारी दिए।

एकदिने महायज्ञमा १०८ ब्राम्हण, १०८ लामागुरु र ११ जना किराँत धर्मगुरुद्वारा श्रीमदभागवत पाठ, वेदपाठ, लघुरुद्री, चण्डीपाठ, नवग्रहपुजन, सवालाख महामृतुञ्जय मन्त्र पाठ, पौने तीन करोड दीप प्रज्वलन गरि महाभुकम्पबाट मृत्यु भएकाहरुको आत्माको मोक्ष प्राप्ति तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित राष्ट्र र राष्ट्रवासीको समृद्धि र समुन्नतिका लागि सामूहिक प्रार्थना समेत गरिएको थियो ।











