१६ जेठ, काठमाडौं । नेपालको राजधानी काठमाडौं लगायतको जनजीवन सामान्य बन्दै गएको अवस्थामा शनिबार राति गएको झट्काले पुनः त्रसित बनाएको छ । आइबारदेखि राजधानीका शैक्षिक संस्थाहरु संचालन गर्ने तयारी भएको र सोही क्रममा राजधानीबाहिर गएका मानिसहरु भित्रिने क्रम ह्वात्तै बढेको छ । शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक सवारी साधनको चाप ह्वात्तै बढेको थियो भने पैदल यात्रुको संख्या पनि भूकम्पपूर्वको अवस्था
जस्तै देखिन थालेको थियो । काठमाडौंमा शनिबार साँझ मानिसहरुको भिडले ६० प्रतिशत मानिस राजधानी फर्किएको अनुमान गर्न सकिन्थ्यो । राजधानीका कलेजहरुमा पढ्ने विद्यार्थीदेखि स्कुलमा पढ्ने विद्यार्थी बस्ने निजी होस्टेलहरु समेत शनिबारसम्म भरिएका छन् । तरकारीको मूल्यमा पुनः वृद्धि भएको छ । मासु लगायतका सामग्रीको मूल्यमा गिरावट आएकोमा शनिबारदेखि ती सबै सामग्रीको मूल्यमा समेत वृद्धि भएको छ ।
तर शनिबार राति अधिकांश मानिसहरु निदाइसकेको अवस्थामा १०ः१३ बजे काठमाडौंमा भूकम्पको दरिलो धक्का महसुस भएसँगै मानिसहरु घरबाहिर निस्किएका छन् । निदाइ सकेका मानिसहरु समेत हल्लाखल्ला गर्दै केहीबेर खुल्ला जमिनमा निस्किएका थिए । यो. झट्काले राजधानी छिरेका मानिसहरुलाई त्रसित बनाएको छ भने आइतबारदेखि विद्यालय जान तयार भएका विद्यार्थीहरुलाई समेत सोचमग्न बनाएको छ । शनिबार राति १०ः१३ मा नुवाकोट केन्द्रविन्दु रहेको ४.५ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको थियो ।











