२ जेठ, रसुवा । महाभूकम्पका क्रममा रसुवामा हिउँ पहिरो आएपछि त्यहाँका वासिन्दालाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । रसुवाको लाङटाङ गाविसका वस्तीहरु हिउँ पहिरोले पुरेपछि स्थानीयहरुलाई नेपाली सेना, विलिभर्स चर्च समुदाय लगायतका संघ संस्थाहरुले उद्धार गरेर काठमाडौं ल्याएका हुन् । लाङटाङमा पहिरो जाँदा १८१ जनाको मृत्यु भएको थियो । अझै सयभन्दा बढी मानिस बेपत्ता भएको स्थानीयहरु बताउँछन् । लाङटाङबाट पाँच सय मानिसको उद्धार गरी काठमाडौं ल्याइएको हो ।
लाङटाङवासीहरुलाई अहिले काठमाडौंको स्वयम्भू गुम्बामा अस्थायी शिविर बनाएर राखिएको छ । उनीहरुका लागि टेन्ट लगाएर बस्ने व्यवस्था गरिएको छ । अत्यन्त जोखिममा रहेका आफूहरुलाई संघसंस्थाहरुले उद्धार गरेर ल्याएको तर सरकारी तहबाट उल्लेखनीय सहयोग नपाएको गुनासो लाङटाङवासीले गरेका छन् । लाङटाङको पहिरोबाट बाँच्नेहरु त्यहाँको त्रासदी एकै पल्ट आएको तर सरकारी तहबाट उद्धारमा ढिलाइ भएको गुनासो गर्दछन् । भूकम्पपछिको पहिरोबाट विलिभर्स चर्च समुदायले उद्धार गरेर काठमाडौं ल्याएका छिरिङ फिन्जु लौप्चनले चर्च लगायका संस्थाहरुलाई धन्यवाद दिए । रसुवाबाट १८० जनालाई उद्धार गरेर ल्याइएको विलिभर्स चर्च समुदायले जानकारी दिएको छ ।
काठमाडौंको स्वयम्भूस्थित एल्लो गुम्बा परिसरमा चार सय जना लाङटाङवासीहरु रहेका छन् । पर्वतारोहण संघ, विलिभर्स चर्च समुदायले उनीहरुका लागि अस्थायी शिविर बनाउन त्रिपाल तथा टेन्टको व्यवस्था गरेका छन् । चर्च समुदायले बारम्बार रसुवाका पीडितहरुलाई खाद्यान्न, कपडा तथा भाँडाकुँडा वितरण गरेको छ । उनीहरुका लागि टेन्ट प्रर्याप्त नभएको भन्दै अस्थायी बसोबासका लागि थप टेन्ट तथा त्रिपाल व्यवस्था गर्न लागिएको विलिभर्स चर्च समुदायका विसप डाक्टर नारायण शर्माले जानकारी दिएका छन् । यसै गरी दोलखा लगायतका जोखिमयुक्त जिल्लामा निरन्तर राहत वितरण गरिएको पनि शर्माले बताए ।













