२८ वैशाख, जाजरकोट । डोल्पाको कालिका गाविसको त्रिवेणी कालिका सडक निमार्णमा उपभोक्ता र सडक खन्ने गाउँले कामदारबीच झड्प हुँदा कालिका गाविस–८ का एक युवकको मृत्यु भएको छ ।
त्रिवेणी कालिका सडकखण्डको कालिका भन्ने ठाउँमा सम्पूर्ण गाउँलेले काम गर्न पाउनुपर्छ भन्ने माग र काम गर्न पाइन्न भन्ने उपभोक्ता समितिको भनाइबीच विवाद हुँदा भएको झड्पमा उपभोक्ता समितिका तर्फबाट प्रहार गरिएको ढुङ्गा लागेर कालिका गाविस– ८ का २५ वर्षीय गोकर्ण सिंह ठकुरीको घटनास्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक सूर्य केसीले उक्त सडक निर्माणको लागि उपभोक्ता समिति गठन गर्दा नै नेकपा एमाले र नेपाली काँग्रेसका गाविसस्तरीय कार्यकर्ताबीच विवाद भएको र यो घटना हुनुमा पनि एमाले र काँग्रेसबीचको विवाद नै प्रमुख कारण भएको प्रारम्भिक अनुसन्धानमा पाइएको बताउनुभयो ।
यसैबीच नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाका सभापति टङ्कप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा कालिका सडक निर्माणको क्रममा उपभोक्ता समिति र गाउँले कामदारबीच भएको झड्पमा परेर मृत्यु भएका गोकणसिंह ठकुरी नेपाल तरुण दल सदस्य रहेको बताउँदै घटनाको सत्यतथ्य बुझेर दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन । रासस













