२८ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको विशेष अधिवेशनमा सभासदहरुले राहतसँगै पुनर्निर्माण र जनतालाई तत्काल केही नगद हातमै पुग्ने खालका योजना ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
भूकम्प प्रभावितका लागि राहत र पुनःस्थापनाका सम्बन्धमा सर्वदलीय सहमतिमा प्रस्तुत ‘सङ्कल्प प्रस्ताव’ माथिको सोमबारको छलफलमा बोल्दै सभासदहरुले भूकम्पबाट घरबारविहीन भएका जनतालाई तत्काल हातमै पर्ने गरी केही नगद राहत दिनुपर्ने बताए ।
छलफलमा भाग लिंदै नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा भूकम्पबाट बढी असर परेको बताउँदै सो जिल्लाका कतिपय गाउँमा अझै पनि राहत नपुगेको र वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए । उनले बिपतको घडिमा ‘सङ्कल्प प्रस्तावमा भए जस्तै सबै दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
नेकपा एमालेका सुरेन्द्र पाण्डे भूकम्पपीडितका लागि वास्तविक पीडित पहिचान गरेर राहत वितरण गर्न, आगामी १५ दिनभित्र क्षतिको सम्पूर्ण विवरण सार्वजनिक गर्न र व्यवस्थित बस्ती विकासका लागि योजना बनाउन सुझाव दिए ।
एकीकृत माओवादीका हरिबोल गजुरेल विगतमा सहमति र सम्झौता पालनामा कमजोरी देखिएकाले यस पटकको सङ्कल्प प्रस्ताव दृढतापूर्वक कार्यान्वयन नभएमा पार्टीका नेतामाथि जनताको भरोसा टुट्ने बताए । उनले यस विषम स्थितिमा राष्ट्रिय सहमतिको सरकार बनाउन र नयाँ संविधान जारी गर्न ढिलो गर्न नहुने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठले भूकम्प आउने सम्भावना भए पनि सरकारले तयारीका काम नगरेकाले विपत्तिपछि जनतालाई तत्काल राहत पुग्न नसकेको टिप्पणी गरे ।











