२८ वैशाख, काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकले ‘संविधानभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति’ को कार्यविधि आगामी तीन महिनाका लागि थप गरेको छ ।
संविधान सभा भवन नयाँ बानेश्वरमा सोमबार बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिले गत संविधानसभा निर्वाचनका क्रममा भएका अनियमितता र कमजोरी तथा आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने सम्बन्धमा सार्वजनिक बहस र स्थलगत अवलोकनका काम पूरा भइ नसकेकाले अवधि थपका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख सुवास नेम्वाङले बैठकमा सहमतिका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए । गत २०७१ जेठ ३० मा गठित सो समितिले यसबीचमा संसद् बैठक सञ्चालन नभएकाले अवधि थपको प्रस्ताव पेस हुन नपाएको सभापति कर्णले जानकारी गराएका थिए ।
२०६४ मा भएको दोस्रो संविधानसभा निर्वाचनको परिणामप्रति एकीकृत माओवादीलगायत मधेसी दल असन्तुष्ट भएपछि राजनीतिक सहमतिका आधारमा विशेष संसदीय समिति गठन भएको थियो । समितिको यसअघि तीनपटक अवधि थप भइसकेको छ ।











