२५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा व्यवस्थापिका संसद्को प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछि नेपालीहरु विदेशीको भर पर्ने अवस्था आएको बताएका छन् ।
व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्पपछि अस्तब्यस्त भएको सरकार विदेशीको मात्रै भर पर्दा नेपालीले स्वाभिमान र आत्समम्मान गुम्ने अवस्था उत्पन्न भएको धारणा व्यक्त गरे । भूकम्पसहितका प्राकृतिक विपत्तिका लागि सरकारले कुनै पूर्वतयारी नगर्दा यति ठूलो विपत्ति आइपरेको आरोप लगाउँदै प्रचण्डले यो विपत्तिलाई झेल्न राष्ट्रिय एकताको खाँचो रहेकोमा जोड दिए । राष्ट्रिय एकताको जरुरी रहेका बेला सरकार परम्परागत रुपमा सैद्धान्तिक आश्वासन दिनमै केन्द्रित रहेको भन्दै उनले दलबीचको सम्बन्धलाई सरकारले नयाँ स्तरमा उठाएर लैजान तयार हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले भूकम्प पीडितको उद्धारमा सरकारको गति अत्यन्तै सुस्त भएको आरोप लगाए । भूकम्प गएको १४ दिन बितिसक्दा पनि जनता खुल्ला आकाशमुनि रहेको बताउँदै उनीहरुसम्म एउटा पालसमेत पुर्याउन नसक्नु लाजमर्दो भएको उनले उल्लेख गरे । भूकम्प पीडितको तथ्यांकमा समेत एकरुपता नरहेको बताउँदै उनले जनतालाई सही सूचना दिन पनि सरकार असफल भएको आरोप लगाए ।











