२५ वैशाख, काठमाडौं । राप्रपा नेपालले व्यवस्थापिका संसद सचिवालयमा भूकम्पबाट मृत्यु भएका परिवारलाई ४ लाख र घर भत्केकालाई ५ लाख रुपैयाँ दिन संकल्प प्रस्ताव दर्ता गरेको छ । राप्रपा नेपालले घर बनाउनका लागि ५ बर्षसम्म निरव्याजी ऋण उपलब्ध गराउन संकल्प प्रस्ताव गरेको हो । 
संकल्पमा धरहरा लगायतका सार्बजनिक स्थल नेपालीकै पैसाबाट पुनर्निर्माण गरिने उल्लेख गरिएको छ । भूकम्प पीडितलाई राहत र पुनःस्थापना कार्यको अनुगमन गर्न प्रतिपक्षी दलका नेताको अध्यक्षतामा प्रधानमन्त्री र मन्त्रीसमेत रहनेगरी उच्चस्तरीय संसदीय समिति गठन गर्न राप्रपा नेपालको प्रस्ताव छ । राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सहयोग जुटाएर ध्वस्त भएका विद्यालय तथा सरकारी भवनहरु एक वर्षमा निर्माण सम्पन्न गरिने छ । त्यसरि पुननिर्माण सम्पन्न नभए सम्मका लागि वैकल्पिक व्यवस्था गरिने छ ।
भूकम्पबाट क्षतिग्रस्त खानेपानी, बिद्युत, संचार आयोजनाहरु ६ महिना भित्र पुननिर्माण गरी संचालनमा ल्याईने प्रस्तावमा उल्लेख गरिएको छ । यस्तै भुकम्प लगायतका विपत्तिबाट हुने क्षतिलाई भविष्यमा न्युनीकरण गर्न भवन निर्माण सम्बन्धी मापदण्डको पुनरावलोकन गर्ने, बिपद व्यवस्थापनसंग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालाई समयानुकल परिमार्जन गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । प्रस्तावमा स्थानिय निकायको चुनाव २०७२ साल भित्रमा सम्पन्न गर्ने उल्लेख गरिएको छ ।











