२४ वैशाख, काठमाडौं । नेकपा (एमाले)ले भूकम्पपीडितलाई यथाशिघ्र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विहीबार बसेको एमाले संसदीय दलको बैठकले विस्थापित एवं गंभीर रुपले प्रभावितहरुका लागि टेण्ट (पाल), जस्तापाता (टिनको छाना), खाद्यान्न, औषधी, लत्ता–कपडा, खानेपानी लगायतका राहत सामाग्री अविलम्ब उपलब्ध गराउन नेपाल सरकारसंग माग गरेको हो । संसदीय दलका नेता केपी ओलीको अध्यक्षमा संविधान सभा भवनको नुप्से हलमा बसेको बैठकले भूकम्पमा परि घाईतेहुनेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेको छ । पूर्णरुपमा ध्वस्त भएका र बस्न अनुपयुक्त घरका परिवारहरुको घर–वास निर्माण गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने माग समेत एमालेले गरेको छ ।
एमाले बैठकका निर्णयहरु जस्ताको तस्तै :
१. यो बैठक, २०७२ साल बैशाख १२ गते र त्यसयताको विनाशकारी भूकम्पमा परि दिवंगत हुनुभएका र उद्धार तथा राहत कार्यका क्रममा वीरगति प्राप्त गर्नुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनहरु प्रति गहिरो समवेशना प्रकट गर्दछ ।
२. यो बैठक, उक्त भूकम्पमा परि भग्नावशेषमा पुरिएका बाँकी व्यक्तिहरु तथा सरसामानको उद्धार तथा खोजीकार्य प्राथमिकतका साथ एवं प्रभावकारी रुपमा अघि बढाउन नेपाल सरकारसंग माग गर्दछ ।
३. यो बैठक, उक्त भूकम्पमा परि घाईतेहुनेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ र उनीहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग गर्दछ ।
४. यो बैठक, उक्त भूकम्पका कारणले विस्थापित एवं गंभीर रुपले प्रभावितहरुका लागि टेण्ट (पाल), जस्तापाता (टिनको छाना), खाद्यान्न, औषधी, लत्ता–कपडा, खानेपानी लगायतका राहत सामाग्री अविलम्ब उपलब्ध गराउन नेपाल सरकारसंग माग गर्दछ ।
५. यो बैठक, उक्त भूकम्पमा परि निधन हुनेका परिवारहरुलाई रु. २ लाखका दरले र घर÷आवास पूर्णरुपमा ध्वस्त भएका परिवारहरुलाई रु. १ लाख दरले अविलम्ब राहत रकम उपलब्ध गराउन नेपाल सरकारसंग माग गर्दछ । त्यसैगरी, मृतकका परिवारका सदस्यलाई रोजगारीका लागि प्राथमिकता दिन माग गर्दछ ।
६. यो बैठक, पूर्णरुपमा ध्वस्त भएका र बस्ने लाएक नरहेका परिवारहरुको घर–वास निर्माण गर्ने जिम्मेवारी सरकारले लिनुपर्दछ र त्यसका लागि लाग्ने न्यूनतम आर्थिक दायीत्व सरकारले नै बहन गर्नु पर्दछ भन्ने माग गर्दछ ।
७. यो बैठक, उक्त भूकम्पमा परि क्षतिग्रस्त भएका शिक्षण संस्था, स्वास्थ्य संस्था, सरकारी तथा अर्धसरकारी एवं सामुदायीक संस्थाका भवन तथा कार्यालयहरु पुनर्निमाण गर्ने जिम्मेवारी बहन गर्न नेपाल सरकारसंग माग गर्दछ ।
८. यो बैठक, उक्त भूकम्पमा परि ध्वस्त एवं क्षति भएका चाँगुनारायण, धरहरा, वसन्तपुर दरवार, काष्ठमण्डप लगायतका विश्व सम्पदा सूचीमा सूचीकृत, ऐतिहासिक, पुरातात्वीक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पनुर्निमाणको जिम्मेवारी बहन गर्न नेपाल सरकारसंग माग गर्दछ ।
९. यो बैठक, उक्त भूकम्पमा परि क्षतिग्रस्त भएका खानेपानी, विद्युत, नहर आदिका आयोजनाहरु र तीनको प्रशारण प्रणालीलाई यथाशिघ्र चाँडो पुनर्निर्माण तथा पुनःसंचालन गर्नका लागि आवश्यक निर्णय एवं कार्यहरु गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।
१०. यो बैठक, उक्त विनाशकारी भूकम्पको क्षतिलाई एकताबद्ध भएर सामना गर्न र पुनर्निमाणको महाअभियानमा जुट्न सरकार, राजनीतिक दलहरु, नागरिक समाज तथा सम्पूर्ण नेपाली समक्ष हार्दिक अपिल गर्दछ । राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यका लागि नेपाल सरकारले प्रस्ताव गरेको दुई खरब रुपैयाको कोष अत्यन्त न्यून भएको ठहर गर्दै क्षतिको दायरा र पुनःस्थापना तथा पुनर्निर्माणको आवश्यकता सम्वोधन हुनेगरी उक्त कोषको आकार बढाउन नेपाल सरकार संग माग गर्दछ । संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघका सदस्य राष्ट्रहरु, नेपालका मिात्रराष्ट्रहरु र अन्तराष्ट्रिय दातृ तथा वित्तिय संस्थाहरुलाई क्षतिको आकारलाई दृष्टिगत गरी राहत, पुनस्थापना तथा पुनर्निमार्णका लागि सहयोग गर्न हार्दिक अपिल गर्दछ ।
११. यो बैठक, उक्त भूकम्प पश्चात राहत, पुनःस्थापना तथा पुनर्निमाण कार्यका लागि स्वदेश तथा विदेशबाट प्राप्तहुने सहयोगलाई पारदर्शि एवं सही ढंगले सदुपयोगहुने सुनिश्चितताका लागि आवश्यक निर्णय लिन र उपयुक्त कार्य गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।
त्यसैगरी, राहत वितरण कार्यलाई आवश्यकता र प्राथमिकाताका आधारमा न्यायपूर्ण ढंगले सम्पादन गर्नका लागि सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि एवं विभिन्न संघ–संस्थाका स्थानीय प्रतिनिधिहरुका विचमा समन्वयको प्रवन्ध गर्न सरकारसंग माग गर्दछ ।
१२. यो बैठक, भूकम्प लगायत प्राकृतिक प्रकोपको जोखिमको संभावनालाई दृष्टिगत गरी भवन संहितालाई अद्यावधिक गर्न, प्रत्येक टोलमा खुलाचौरको व्यवस्था, सडकको न्यूनता चौडाई तथा भवन निर्माणका लागि न्यूनतम क्षेत्रफल निर्धारण लगायतका बिषयहरुमा उपयुक्त निर्णय गर्न र आवश्यक नीति, ऐन, संरचना र साधन–श्रोतको व्यवस्था गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।
त्यसैगरी, बन क्षेत्र, कृषि क्षेत्र, आवास क्षेत्र, उद्योग–वाणिज्य क्षेत्र, सार्वजनिक कार्यका लागि आवश्यक प्रयोजनका क्षेत्र आदिका रुपमा जमिनको वर्गिकरण गर्न र तदनुरुप भूउपयोग हुने व्यवस्था सुनिश्चित गर्न सरकार समक्ष माग गर्दछ ।
१३. यो बैठक, उक्त भूकम्प पश्चात सार्वजनिक, सामुदायीक तथा निजि घर, भवन तथा संरचनाहरुको विद्यमान अवस्थाको बारेमा प्राविधिक परिक्षण गरी प्रयोग गर्न हुने, प्रयोग गर्न नहुने र मर्मत संभार पश्चात प्रयोग गर्नहुने अवस्थाको एकिन गर्न र सम्बन्धित परिवार तथा समुदायमा सोको जानकारी दिलाउन नेपाल सरकार समक्ष माग गर्दछ ।
१४. यो बैठक, उक्त भूकम्पबाट भएको जन–धनको क्षतिको सम्पूर्ण तथ्य विवरण संकलन गर्न र सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।
१५. यो बैठक, उक्त भूकम्प पश्चात संचालित उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा सहयोग तथा अनुगमन गर्नका लागि संसदीय समिति गठन गर्न माग गर्दछ ।
१६. यो बैठक, उक्त भूकम्प पश्चात संकट ग्रस्त क्षेत्रको घोषणा गर्नका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्डलाई मानवीय क्षतिका साथै भौतिक क्षति समेतका आधारमा अद्यावधिक गर्न र तदनुरुप प्रभावित जिल्ला तथा ईलाकाहरुलाई संकट ग्रस्त क्षेत्र निर्धारण गर्न नेपाल सरकार समक्ष माग गर्दछ ।
१७. यो बैठक, उक्त भूकम्पबाट पिडित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सभासदहरुबाट एक माहिनाको पारिश्रमिक प्रदान गर्ने पूर्व निर्णयलाई हार्दिक समर्थन गर्दछ । राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सक्रियतापूर्वक लाग्न, यस कार्यमा स्वेच्छिक स्वयमसेवक भएर भूमिका निर्वाह गर्न र अधिकत सहयोग गर्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य, समर्थक तथा आम जनसमुदायलाई अपिल गर्दछ ।
१८. यो बैठक, उक्त भूकम्पबाट पिडित तथा प्रभावितहरुको उद्धार र राहत कार्यमा आफ्नो ज्यानको समेत पर्वाह नगरी योगदान गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, स्वास्थ्यकर्मिहरु, सरकारी, अर्धसरकारी तथा गैरसरकारी संघ–संस्थाहरु, राजनीतिक दलहरु, आम जनसमुदायका साथै विदेशी सरकार, संघ–संस्था र व्यक्ति–व्यक्तित्वहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
अग्निप्रसाद खरेल
प्रमुख सचेतक
संविधानसभा÷संसदीय दल, नेकपा (एमाले)
मिति ः २०७२ ÷ ०१ ÷ २४











