२४ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद बैठकमा भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित भएको छ । विहीबार बसेको संसद बैठक शोक प्रस्ताव पारित गर्दै शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसद बैठकमा शोक प्रस्ताव पारित गर्न प्रस्ताव गरेको थियो । शोक प्रस्ताव पारित भएपछि संकल्प प्रस्ताव र प्रधानमन्त्रीको सम्बोधन अर्को बैठकमा मात्रै हुने तीन दलवीच सहमति भएका थियो ।
बैठकमा सत्ता पक्षले संकल्प प्रस्तावको मस्यौदासमेत पेश गरेको थियो । बैठकमा शोक प्रस्ताव, संकल्प प्रस्ताव र प्रधानमन्त्री सुशील कोइरालाको सम्बोधनसमेत गरी तीन वटा एजेण्डा सत्तापक्षले प्रस्ताव गरेको थियो । बालुवाटार बैठकमा सत्तापक्षको प्रस्ताव आएपछि एमाओवादीका तीन शीर्ष नेताले केहीबेर अलग्गै छलफल गरेका थिए ।
विपक्षीले बोलाएको बैठक भएकाले संकल्प प्रस्ताव विपक्षीले नै तयार पार्ने र सो प्रस्ताव सत्तापक्षलाई पनि चित्त बुझ्ने गरी बनाइने एमाओवादी नेताले बैठकमा बताएका थिए । शुक्रबारलाई तय भएको संविधानसभा बैठक भने आउँदो जेठ १ गतेलाई सारिएको छ ।











