१६ वैशाख, बारपाक गोरखा । एकैनासका १४ सय ७० घरको सुन्दर गाउँ। ढुंगा छापेका छाना। ढुंगा नै ताछेर बिच्छयाइएका बाटा। आफ्नै लघुजलविद्युत्। २२ घरमा होमस्टे। गोरखाको सुदूरउत्तर बारपाक पुगेर फर्केकाहरूका मन र क्यामेरामा यसको सुन्दर चित्र अझै होला। तर गत शनिबारको महाभूकम्पको केन्द्रविन्दु यस गाउँबाट ती सबै सिद्धिएका छन्।
सानो सुन्दर यस गाविसमा बारपाक र मान्द्रे जम्मा दुई टोल छन्। मान्द्रे पूरै क्षतिग्रस्त छ। गाउँले पाल टाँगेर बसेका छन्। स्थानीय ओमबहादुर घलेका अनुसार यस गाउँमा ५० वटा मात्रै घर बाँकी छन्।
‘ढलान गरेका घर जोगिए, ती पनि सबै चर्किएर बस्न नहुने भएका छन्,’ उनले भने, ‘६८ जनाको लास भेटियो, पाँच जना अझै बेपत्ता छन्।’ लडेका कतिपय घर अझै खोस्रन बाँकी रहेको उनले बताए।
‘के आयो आयो, ड्याम्म धूलाले छोप्यो, डामडुम घर सबै लडे,’ उनले भने, ‘हाम्रा मान्छे सिध्यायो, घर लडायो, स्कुल, चौकी सबै सखाप पार्यो भुइँचालोले।’ घटनाको दिन सुमबहादुर गुरुङको नयाँ घर निर्माणको काम भइरहेको थियो। ‘त्यो घर बनाउन खटिएका आठ जना ठहरै भएछन्,’ स्थानीय जितबहादुर घलेले भने, ‘मान्छे नच्यापेका घरै छैनन् भन्दा हुन्छ। भूकम्पपछि आगलागी भयो। त्यसमा ३५ घर जले, घरमै पोलिएर चार जनाको प्राण उड्यो।’
यहाँ तीन मिनेटसम्म कम्पन भएको स्थानीयवासीले जानकारी दिए। सदरमुकामबाट २२ कोस टाढाको दुर्गम इलाका भए पनि बारपाक पर्यापर्यटनको धनी थियो।
घट्टेखोलाबाट निकालिएको १५० किलोवाटको आफ्नै लघुजलविद्युत्, नमुना संग्रहालय र ७ वटा विद्यालय थिए। सबै ध्वस्त भएका छन्।
अन्नपातसमेत निकाल्न नपाएकाले राहतमा वितरित चाउचाउ र बिस्कुटको भर छ। चिसो हावा चल्ने र वर्षा भइरहने भएकाले जनजीवन अत्यन्त कष्टकर भएको स्थानीयवासीले बताए।
भूकम्पपछि यहाँबाट ६४ जनाको उद्धार गरी पोखरा र काठमाडौं लगिएको छ। नेपाली र भारतीय सेनासँगै प्रहरीको टोली पुगेर राहत वितरण र उद्धारको काम गरिरहेका छन्। प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार बेपत्ता ५ जनाको खोजी जारी छ।
मंगलबार पनि यहाँ भूकम्पको धक्का महसुस भएको छ। स्थलमार्गबाट यहाँ आइपुग्ने बाटो कतै पहिरोले लगेको छ भने कतै चिरिएको छ। ‘उद्धार गरी पठाउन हेलिकप्टरबाहेक अर्थोकमा सम्भव छैन,’ उनले भने, ‘पानी र शौचालयको समस्या छ।’
भूकम्प प्रभावित गाउँमा उद्धार र राहत पठाउन जिल्ला प्रशासनले एकरएकजना अधिकृतको जिम्मामा टोली परिचालन गरेको छ। बारपाकका लागि खटिएको टोलीका संयोजक जिविसका ऊर्जा विकास अधिकृत कुलराज चालिसेका अनुसार यहाँ भूकम्पले लघु जलविद्युत् र सिस्नु पाउडर उद्योगलाई नराम्ररी क्षति पुर्याएको छ।
नेपाल टेलिकमको टावर पनि क्षतिग्रस्त भएको छ। खुम्चे गुम्बा ध्वस्त भएको छ। शवहरू मुचुल्कापछि चिहान डाँडामा गाड्ने काम भइरहेको छ। ‘आजै तीनपल्ट कम्पन भयो,’ उनले भने, ‘उद्धारमा आएकालाई पनि जोखिम छ। त्रासमा काम गरिरहेका छौं।’
उनका अनुसार यहाँ रहेका विद्यालय, हुलाक, कृषि सेवा र प्रहरी चौकी सबै ध्वस्त भएका छन्। घटनाका दिन यहाँ ५ फ्रान्सेली र एक भारतीय पर्यटक थिए। उनीहरूलाई पनि घाइते अवस्थामा उद्धार गरि पोखरा लगिएको छ।
हाल यहाँ सेनाको मेडिकलका १० सदस्यसहित २० सैनिक र १० प्रहरी उद्धार र राहत वितरणमा खटिएका छन्।
लाप्राकमा उद्धार असहज
नजिकैको अर्को विकट गाविस लाप्राकमा भने उद्धारको काम सहज नभएको पाइएको छ। त्यहाँका गाउँले एक घण्टा दूरिको गुप्सी डाँडामा त्रिपाल टाँगेर बसेका छन्।
त्यहाँका ५ सय २० घरमा ३ वटामात्रै सग्ला छन्। १७ जनाको शव फेला परेको सेनाका क्याप्टेन नारायणप्रसाद आचार्यले फोनमा बताए। ‘आफ्नो सीमित खान्की बोकेर उद्धार टोली त्यता पुगेको थियो,’ उनले भने, ‘उपचार र राहतको सामान नहुँदा काम गर्न अप्ठेरो भएको खबर छ।’
(सुदीप कैनीको रिपोर्ट कान्तिपुरबाट)












