१५ वैशाख पोखरा । शनिवारको विनासकारी भूकम्पबाट प्रभावित गोरखाको दुर्गम क्षेत्रबाट अहिलेसम्म एक सय ६४ घाइतेको उद्धार गरी पोखरा ल्याइएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको बारपाक सहित लाप्राक, सिर्दिवास, गुम्दा, सौरपानी, मुच्चोक, सिमजुङ, लापुबेसी, थुमी लगायतका क्षेत्रबाट उनिहरुको उद्धार गरिएको हो ।
आईतवार नेपाली सेनाको हेलिकप्टरले ७८ घाईतेको उद्धार गरी पोखरा ल्याएकोमा सोमवार आएको भारतिय वायुसेनाको बिमानले थप घाईतेको उद्धार र राहत सामाग्री पुर्याउने काम गरिरहेको छ । सोमवार सम्म एक सय ८ घाईतेलाई पोखरा ल्याएकोमा मंगलवार मात्रै थप ५६ जनालाई उद्धार गरिएकाृे छ । मंगलवार यसअघि उद्धारको लागि पुग्न नसकिएको क्षेत्रबाट घाईतेको उद्धार र राहत बितरणको काम गरिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले जानकारी दिए ।
मंगलवार लाप्राकबाट २४ जना, सौरपानीबाट १०, गुम्दाबाट १०, सिर्दिवासबाट ३, मुच्चोक, सिमजुङ र थुमीबाट एक÷एक तथा लापुबेसीबाट ६ घाइतेको उद्धार गरिएको छ । पोखरामा संकलित राहत सामाग्री प्रभाबित क्षेत्रमा पठाउने काम भैरहेको पनि थपलियाले बताए ।
पोखराका बिभिन्न संघसंस्थाले संकलन गरेको राहत सामाग्री पोखरा बिमानस्थलमा जम्मा गरिएको छ । उद्धारको लागि भारतिय वायुसेनाको पाँच हेलिकप्टर पोखरा बिमानस्थलमा तैनाथ छ । मौषम प्रतिकुलताको कारण प्रभाबित क्षेत्रको लागि थप उडान हुन नसकेको नेपाली सेना पश्चिम पृतना पोखराले जनाएको छ ।











