१५ वैशाख, काठमाडौं । शनिबारको महाभूकम्पपछि आतंकित बनेका नेपालीहरु आजबाट भने केही राहत महसुस गरेका छन् । हिजोदेखि ठूलो भूकम्पको धक्का नआएका कारण आजदेखि राजधानी लगायतका सुरक्षित स्थानको जनजीवन सामान्य बन्न थालेको छ । रातभर चौरमा बसेका मानिसहरु पनि आज विहानैदेखि घरघरतर्फ फर्कन थालेका छन् । कतिपय मानिसहरु पनि हिजो साँझ समेत आआफ्नै घरमा बसेको बताएका छन् । आज विहान साना धक्काहरु आए पनि मानिसहरु शनिबार र आइतबारजस्तो त्रसित भएका छैनन् । शनिबार र आइतबार दिनभरजसो ठूला धक्काहरु आए पनि सोमबार र मंगलबार भने धक्का गति र संख्यामा समेत क्रमशः कमी आएको छ ।
आज काठमाडौंमा निजी सवारी साधन तथा सार्वजनिक सवारी साधन चल्न थालेका छन् । यसैबीच विभिन्न स्थानमा चलेका सवारी साधनले बढी भाडा असुलेको खबर प्राप्त भएको छ । रौतहट संवाददाताले त्यहाँस्थित सवारी साधनले बढी भाडा लिएको र त्यस्तो कार्यविरुद्ध स्थानीयहरुले नै अभियान सुरु गरेको जानकारी दिएका छन् ।
भूकम्पको झटका कम हुँदै गए पनि राजधानीबाट बाहिरिने मान्छेको चाप बढेको छ । नयाँ वसपार्क र कलंकी लगायतका राजधानी बाहिरिने नाकामा मानिसको भीड लागेको छ ।
भूकम्पविद्हरुले पनि महाभूकम्प विस्तारै मत्थर बन्न थालेको बताएका छन् ।
राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पविद् उमेशप्रसाद गौतमले ठूला भूकम्पपछि साना साना भूकम्प जाने क्रम स्वभाविक भएको बताए । साना साना भूकम्पहरु नआएको भए ठूलो भूकम्प आउने खतरा रहने तर अब साना साना धेरै भूकम्प आएकोले त्यो खतरा कम हुँदै गएको गौतमले बताएका छन् ।
शनिबारदेखि ७२ घण्टामा करिब ४ सय पटक भूकम्प आएको छ । विभन्न खाले पराकम्पहरुको मद्दतले चिरा परेको फल्ट जोन पूरानो अवस्थामा फर्कंदै गरेको उनले बताए । शनिबार ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरको भूकम्पपछि ४ रेक्टरभन्दा माथिका ९० र त्यसभन्दा मूनीका ३ सयबढी भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । मंगलबार १२ बजेर ८ मिनेटमा सिन्धुपाल्चोक र नुवाकोटको सीमानालाई केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
फल्ट जोन पुरानो अवस्थामा फर्किने क्रममा ससाना झट्का आएको बताउँदै उनले अब स्थिति सामान्य बन्ने बताइएको छ । भूकम्पका झट्काको शक्ति घट्दै गएको तथा झट्काहरु आउने समयायन्तर पनि बढी हुँदै गएको बताउँदै भूकम्पविद्हरुले अबस्था सामान्य बन्दै गएको जानकारी दिएका छन् ।
७२ घन्टासम्म भूकम्पको अवलोकन गरेपछि क्षति नभएका घरहरु अब सुरक्षित रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । घर नभत्किएकाहरु अब सुरक्षित रुपले घरमै बस्दा हुने विज्ञहरुले बताएका छन् ।











