गोकुल बानियाँ
पोखरा १५ बैशाख । शनिवारको बिनासकारी महाभूकम्पबाट प्रभाबित गोरखाको दुर्गम क्षेत्रमा उद्धारको लागि भारतिय वायु सेनाको पाँच हेलिकप्टर एकसाथ गोरखपुरबाट पोखरा आईपुगेका छन् ।
सोमवार दिउसो ४ बजे गोरखपुरबाट एक र काठमाण्डौबाट दुई हेलिकप्टर पोखरा आएकोमा साझ ६ बजे थप चार हेलिकप्टर एकसाथ पोखरा बिमानस्थलमा अबतरण भएको हो । भारतिय वायु सेनाको हेलिकप्टरबाट सोमबारबाटै प्रभाबित क्षेत्रमा उद्धारको काम तिब्र पारिएको छ ।
भारतिय वायु सेनाको एमआई ७० हेलिकप्टरबाट बढी प्रभाबित भनिएको क्षेत्र काशिगाउ, केरम्जा र गुम्दाको साथै अर्को हेलिकप्टर मार्फत सौरपानी र सिम्लाको लागि राहत सामाग्री पठाईएकोमा गुम्दामा अबतरण गर्न नसकी एउटा हेलिकप्टर पोखरा फर्किएको छ ।
त्यस्तै काठमाण्डौबाट गएको अर्को भारतिय वायु सेनाको हेलिकप्टरले बारपाकबाट १२ जना घाईतेको उद्धार गरेर पोखरा ल्याएको छ । घाईतेहरुलाई उपचारको लागि गण्डकी मेडिकल कलेज चरक अस्पतालमा भर्ना गरिएको छ ।
यसैबिच साझ पोखरा आएको चार हेलिकप्टर मध्ये दुईओटा राहत सामाग्री सहित प्रभावित क्षेत्रमा गएको छ । पोखरामा भारतिय वायु सेनाको पाँच हेलिकप्टर गोरखाको उद्धारको लागि तैनाथ हुने र मंगलवार बिहानैदेखि उद्धारको काम थालिने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले जानकारी दिए । भूकम्पको केन्द्र मानिएको गोरखाको वारपाकमा उद्धार टोली पुगिसकेको र थप बिबरण संकलनको काम भैरहेको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ ।
गोरखाको प्रभाबित क्षेत्रका बासिन्दाको लागि पोखराका उद्योगी ब्यबशायी, पर्यटन ब्यबशायी, लायन्स क्लब लगायतले राहत सामाग्री संकलन गरी पठाएका छन् । पोखरा उद्योग बाणिज्य संघले ६० परिवारलाई पुग्ने गरी त्रिपाल, म्याट्रेस, कम्बल, भाडाकुडा, लत्ताकपडा, दालचामक, बिष्कुट, पानी लगायतको ४ लाख बराबरको राहत सामाग्री पठाएको अध्यक्ष बिन्दुकुमार थापाले जानकारी दिए ।
त्यस्तै पोखराका पर्यटन ब्यबशायीले झण्डै एक सय परिवारलाई पुग्ने गरी राहत सामाग्री पठाएको छ । पर्यटन ब्यबशायीले राहत कोषनै स्थापना गरेर अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खानाको ब्यबस्था गरेको छ । अस्पतालमै हेल्पडेस्क स्थापना गरी उपचाररत घाईतेलाई सघाईने पर्यटन ब्यबशायी गणेश बहादुर भट्टराईले बताए । लायन्स क्लब पोखराले पनि २ लाख ५६ हजार बराबरको राहत सामाग्री प्रभाबित क्षेत्रको लागि पठाएको छ ।
भूकम्पको केन्द्र मानिएको वारपाक सहित लाप्राक, सौरपानी केरौजा, सिमजुङ , काशिगाउ, सिम्ला लगायतका गाबिसमा ठूलो क्षति भएको अनुमान गरिएको छ । त्यस क्षेत्रका ८० प्रतिशत घरहरु पूर्ण रुपमा ध्वस्त भएको उपचारको लागि पोखरा ल्याईएका घाईतेहरुले बताएका छन् ।
पोखरा आईपुगेका घाईतेका अनुसार अझैपनि सयौको संख्यामा घाईतेहरु उद्धारको पर्खाइमा बसिरहेका छन् । भूकम्पबाट ज्यान जोगाएकाहरुलाई खाद्यान र बासको अभाब भएको छ । खोजी, उद्धार र राहतको क्रममा घाईतेको उद्धारलाई पहिलो प्रथामिकतामा राखिएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ ।
गोरखामा अहिलेसम्म साढे दुईसय भन्दा बढीको ज्यान गएको बिबरण प्राप्त भएको छ । यद्यपी बढी प्रभाबित क्षेत्रको बिबरण आउन बाकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।













