११ वैशाख, भक्तपुर । नेकपा एमाले का अध्यक्ष केपी ओलीले संविधान निर्माण गर्दा आइपर्ने समस्या समाधान गर्दै यसै वर्ष संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओलीले लोकतन्त्र दिवसका अवसरमा शुक्रबार आफ्नै निबासमा संचारकर्मीहरुसंग कुरा गर्दे लोकतान्त्रिक आन्दोलनमा बलिदान दिएका शहिद, घाइते तथा सवै जनताको बलिदानी पूर्ण संधर्षबाट संविधानसभा स्थापना भएको उल्लेख गरे । अध्यक्ष ओलीले पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुलाई आफूहरुको कमजोरी भएको स्वीकार गर्दै दोस्रो संविधानसभाबाट संविधान जारी गरिछाड्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले असहमतिका बुँदाहरुमा सहमति खोज्ने र सहमति हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष ओलीले आन्दोलनको अभिभारा पूरा गर्न आइपर्ने घुमाउरो तथा अप्ठ्यारा बाटालाई छिचोल्न तयार हुनुपर्ने भन्दै आम नागरिकलाई लोकतन्त्र दिवसको शुभकामना दिए ।











