१० वैशाख, काठमाडौं । संविधानसभाको बैठक दलहरुलाई सहमतिका लागि अन्तिम पटक सात दिनको म्याद दिएर स्थगित भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै संविधानसभाको प्राथमिकता अहिले पनि सहमतिनै हो भन्दै दलहरुलाई सहमतिका लागि अन्तिम पटक वैशाख १७ गते ३ बजेसम्मको समय दिइएको बताए । एक साताको समयमा पनि संविधानका अन्तरवस्तुमा सहमति नभएमा संविधानसभाले नियम, स्थापित अभ्यास र संविधान बमोजिम प्रक्रिया अघि बढाउने अध्यक्ष नेम्वाङले प्रष्ट पारे ।
दलहरुलाई सहमतिका लागि समय दिनकै लागि संविधानसभा २ महिना १० दिनसम्म स्थगित गर्दा र कार्यसूचीमा केही नराख्दा पनि सहमति हुन नसकेको नेम्वाङको भनाई छ । प्रस्ताव निर्माण समितिले विवादित विषयमा प्रश्नावली बनाएर संविधानसभाले अनुमोदन समेत गरिसकेकाले अब एक साताभित्र सहमति नभएमा प्रश्नावलीमाथिको मतदान र संविधान मस्यौदाको प्रक्रिया अघि बढाइने भएको छ ।
यसअघिका तीनओटा बैठक शोक प्रस्ताव पारित गर्नमात्र सिमित भएका थिए । ती बैठकमा उपस्थित भएको एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाका सभासद विहिवारको बैठकमा भने सहभागी भएनन् ।











