संविधान सभाको विहीबारको बैठकमा नजाने निर्णय विपक्षी मोर्चाले गरे पनि प्रमुख दलबीच भने कुरा मिलिसकेको एमाओवादी नेताहरुले नै खुलासा गरेका छन् । एकीकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले संविधानका विवादित बिषयमा तिनदलबीच मोटामोटी सहमति भएको खुलासा गरेका छन् ।
नेपाल देश डट कमसँग कुराकानी गर्दै श्रेष्ठले लामो समयपछिको छलफलबाट दलहरुले संविधान निमार्णमा न्युनतम सहमति जुटाउँदै बाटो खुला गरेको बताए । संविधानका विवादित विषयलाइ साझा मुद्दाका रुपमा लिएर संविधान दिनेतर्फ सबै केन्द्रित हुनुपर्ने र अब पनि फेरि विभिन्न वाहनामा निहुँ झिक्न नहुने उनको भनाइ थियो ।
त्यस्तै एमाओवादीका प्रमुख सचेतक टोपबहादुर रायमाझीले समेत नेपाल देश डट कमसँग कुराकानी गर्दै अबको एक हप्ताभित्र दलहरुबीच औपचारिक सहमति हुने खुलासा गरे । भित्र गृहकार्य भैरहेको र अब एक साताभित्र औपचारिक सहमति गरेर अगाडि बढिने रायमाझीले बताए ।











