९ वैशाख, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले अनलाइन भिसा प्रणालीको बारेमा गलत ढंगले प्रचार गरिएको भन्दै गुनासो गरेका छन् ।
अनलाइन भिसा प्रोसेसिङ प्रणालीबारे संसदको सार्वजनिक लेखा समितिमा वुधबार जवाफ दिंदै गौतमले अनलाइन भिसा प्रणालीको बारेमा गलत ढंगले प्रचार गरिए पनि आफूले मुलुकको हितका लागि यो प्रस्ताव ल्याएको दावी गरे । आफ्नो प्रस्तावबाट आफू पछि नहट्ने जिकिर उनले गरे । आफू उक्त प्रणालीबारे जहाँसुकै गएर भने पनि फेस गर्न तयार रहेको भन्दै गौतमले नेपालको विकास हुन नदिने तत्वले यस्ता राम्रा कामको पनि विरोध गरिरहेको आरोप पनि लगाए ।
अहिले गलत ढंगले हल्ला गर्ने र सही कुरा गर्दा खेदो खन्ने अत्यन्तै नकारात्मक प्रवृति हावी भएको उनको गुनासो थियो । अनलाइन भिसाका विषय मुलुकको हितकै लागि भएको उल्लेख गर्दै यसलाई सहमति दिनुपर्ने दावी गौतमले दोहोर्याए ।
त्यस्तै गौतमले हल्ला गरेका भरमा गलतलाई सही सावित गर्न खोजिएको तर्क प्रस्तुत गर्दै जाजरकोटमा स्वाइन फ्लूबाट मर्नेको संख्या तीन चार जना भए पनि महामारीबाट मर्ने सबै स्वाइन फ्लूबाटै मरेको प्रचार गरिएको दाबी समेत गरे ।
बैठकमा केही सभासद्हरुले जबर्जस्ती अनलाइन भिसा प्रणाली नै गलत भएको भन्दै समितिले नै रोक्ने चेतावनी दिएका थिए । छलफल पछि बैठकले अनलाइन भिसा प्रणालीका बिषयमा अर्को बैठकमा प्राविधिक सँग नै छलफल गर्ने निर्णय गरेको छ ।











