६ वैशाख, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर ५ झयाप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
जी जे १४ एक्स ९९०० नम्बरको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन । १४ जनाको घट्नास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवकी भाई सत्यारा, गणेश भाई सत्यारा, देगाराम भाई सत्यारा, नरसी भाई सत्यारा, गंगाराम भाई सत्यारा र गनपथ भाई सत्यारा रहेका छन । यस्तै, जसविन सत्यारा, लिलाविन सत्यारा, गौरीदेव जीवन, गौरी विन, कञ्चन विन रहेका छन । अरु मृतकको भने पहिचान हुन बाँकी छ ।
हनुमान ढोका काठमाडौंबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो ।
विहानै काठमाडौंको तिलगंगास्थित सत्यसाई धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना थिए । मृतकका सनाखत भएपछि शव भारतीय दूतावासलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।













