९ वैशाख, धादिङ । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक खण्ड अन्तर्गत नौबिसे झ्याप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्। दुईतले बस तीव्र गतिमा आएको मोटरबाइकलाई बचाउन खोज्दा नियन्त्रण गुमाएर खोलामा खसेको हो। भारतीय तीर्थयात्री बोकेको जी जेड १४ एक्स नम्बरको बस सडकबाट तीनसय मिटर तल झ्याप्ले खोलामा खसेको छ।१४ जना घटनास्थल र ३ जनाको उपचारको क्रममा ज्यान गएको हो। प्रहरी तथा स्थानीयसमेतबाट शव संकलन तथा उद्धारको काम भइरहेको छ। पशुतिनाथको दर्शन गरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो। दुर्घटनामा पर्ने भारतको गुजरातका सर्वसाधरण किसान छन्। वृद्धावृद्ध र केटाकेटी पनि परेका छन्।
ज्यान गुमाउनेको संख्या १७ पुगेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी उपरीक्षक कालीदास धौवजीले बताए। बसमा ४५ जना यात्रु भएको अनुमान गरिएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको नर्भिक र शिक्षण अस्पतालमा पठाइएको छ।
घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले उद्धारकार्य जारी राखेका छन्। उद्धारमा २ सय जनाभन्दा बढी खटिएका छन् ।















