८ वैशाख, बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवा स्थित पसाहा खोला नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ ।
काठमाण्डौबाट सर्लाहीको मलंगवाका लागी छुटेको ना ४ ख ४५१६ नम्बरको न्यु एन्जल ट्राभल्सको बस बिहान पौने ६ बजे गढीमाई नगरपालिका वडा नम्बर १६ स्थित सहजनाथ मन्दिर नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सर्लाहीको ब्रम्हपुरी ५ का अन्दाजी ४५ वर्षका अखिल गिरी ,उनकी श्रीमती ४० वर्षकी सिता भनिने भवानी गिरी र सर्लाहीकै पुनर्वासका २२ वषीय लक्ष्मी पासवानको मृत्यु भएको हो । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
घाइतेमध्ये सर्लाही कल्याणपुर ८ का जितेन्द्र प्रसाद साह, सुरेश चोधरी, सर्लाही सिमराका महमुद मनामी रानी, सर्लाही फरदवाका रुपनारायण साह र भारत सितामढीका कयश अन्सारी सहित ६ जनाको बाराको सिमरा स्थित तराई सिमरा अस्पतालमा उपचार भई रहेको छ । जसमध्ये सुरेश र रुपनारायण साहको अवस्था चिन्ताजन रहेको प्रहरीले जनाएको छ । अन्य ८ जना घाईतेहरुको निजगढ स्थित मोहम्बी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरिक्षक रामहरिराज भण्डारीले जानकारी दिनु भयो । दुर्घटना पछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरी नायब निरिक्षक भण्डारीले बताए ।













