८ वैशाख, काठमाडौं । नेकपा–माओवादीले परी थापा नेतृत्वको नेकपा एकीकृतसँग पार्टी एकता गर्ने र एकीकृत माओवादीसँग सिद्धान्तनिष्ठ एकताका लागि वार्तालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
केही दिनदेखि काठमाडौमा बसेको पार्टीको पोलिटब्युरो बैठकले एकीकृतसँग आधारभूत वैचारिक÷राजनीतिक प्रश्नहरुमा मूलतः सहमति देखिएको भन्दै पार्टी एकता गर्ने निर्णय गरेको जानकारी माओवादी महासचिव रामवहादुर थापा बादलले दिएका छन् । बादलले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएका छन् ।
नेकपा–माओवादीसँगको एकताका लागि नयाँ जनवादी कार्यदिशाको पक्ष तथा संसदवादी संविधान निर्माणको विरोधमा स्पष्ट अडानसहित सात बुँदाका विषयमा समान धाराणा र सिद्धान्तनिष्ट एकताको वार्तालाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । माओवादीले मातृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीलगायतसँग पनि पार्टी एकताको प्रयास गरिरहेको छ ।
नेकपा–माओवादीले गत फागुन १ गतेबाट सुरु गरेको मेची–महाकाली अभियानलाई थप पाँच महिना सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।
नेकपा–माओवादीले जनपरिचालनको काम अपेक्षा अनुसार सफल हुन नसकेको भएपनि संगठनको गठन, पुर्नगठन तथा व्यवस्थापन र सामान्य जनसम्पर्कका दृष्टिकोणले सफल भएको भन्दै थप ५ महिना सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसैगरी माओवादीले राष्ट्रियता, जनसंविधान, जनजीविका, शान्ति सम्झौताको उल्लंघन लगायतका विषयमा साझा सहमति हुने घटकहरुसँग कार्यगत एकता गरी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेकपा–माओवादीले हालैका दिनहरुमा जाजरकोट जिल्लामा फैलिएको स्वाइनफ्लुको महामारी रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।











