७ वैशाख, बारा । एमाओवादीका सभासद् दिलमाया धामी र डाक्टर उषा किरण अन्सारीले जिल्ला विकास समिति बारामा सोमबार तालाबन्दी गरेका छन्।
बारा क्षेत्र नम्बर ४ की एमाले सभासद नजमा खातुनले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट दुरुपयोग गरेको भन्दै माओवादी सभासदहरुले जिविसमा तालाबन्दी गरेका हुन्।सभासदद्वय धामी र अन्सारीको नेतृत्वमा पुगेका एमाओवादीका कार्यकर्ताहरुले जिविसको योजना, लेखा, दर्ता शखा र प्रसाशकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
बारा क्षेत्र नम्बर ४ को विकास निर्माणका लागि निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत आएको एक करोड रुपैया एमाले सभासद खातुनले आफु अनकुलको योजनामा मात्रै विनियोजन गरेर बजेट दुरुपयोग गरेको उनिहरुको आरोप छ।
जिविसका कर्मचारीहरुको मिलोमतोमा एमाले सभासद खातुनले एमाओवादीका सभासदहरुको सहमति बेगर एकलौटी ढंगले योजना छनौट गरेको सभासद धामीले बताइन् । आफुले तीन वटा योजनाका लागि २१ लाख रुपैया बजेट विनियोजन गरिदिन आग्रह गरेपनि सभासद खातुनले कुनै वास्ता नगरेको उनले गुनासो गरिन्।
चार नम्बर क्षेत्रमा हामी तीन जना सभासद छौ ,सबैको सहमतिमा बजेट विनियोजन गर्नु पथ्र्यो ,सभासद धामीले भनिन् ,तर नजमा दिदीले हामीलाइ बाइपस गर्नु भयो।यसैबीच एनेकपा माओवादी बाराका इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिलले जिल्लाको विकासका लागि सभासदको नाममा आएको बजेट एकतर्फी रुपमा खर्च गर्ने निर्णय मान्य नहुने बताएका छन् ।
‘जुनसुकै पार्टीका सभासदको नाममा बजेट आएपनि त्यो खर्च गर्दा सबै सभासदको सहमति हुनु पर्छ , सोमबार एक विज्ञप्ति जारी गर्दै इन्चार्ज श्रेष्ठले भनेका छन् ,एमाओवादीका सभासदहरुलाई अलग्याउनु दुर्भाग्यपुर्ण छ।
तर सभासद खातुनले भने निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको निर्देशीका अनुसार नै योजनाहरु छनौट गरिएको बताइन्। यो मेरो एकल निर्णय होइन , उनले भनिन् ,‘ अरु सभासद र जिल्ला विकास अधिकारीकै सहमतिमा योजनाहरु छनौट गरिएको हो ।सभासद धामीले दिएका तीन वटा योजनाका लागि पनि बजेट छनौट गरिएको उनको दाबी छ।
सभासद धामीले हरेक योजनाको उपभोक्ता समितिमा आफनै पार्टीका कार्यकर्ताहरुलाइ राख्नु पर्ने बखेडा झिकेर विवाद सृजना गरेको उनले बताइन् ।
यसैबीच एमाओवादीका सभासदहरुले जिविसमा लगाएको ताल्चा सोमबारै अपरान्ह प्रहरीले फुटाइदिएको छ एमाओवादीका नेता धुरी साहले भने मंगलबार फेरि जिविसमा तालाबन्दी गर्ने बताएका छन् । आज प्रहरीले ताल्चा फुटाए पनि भोलि फेरि तालाबन्दी गर्छौ , उनले सोमबार भने , भोलि जिविसमा धर्ना पनि दिन्छौ ।











