७ वैशाख, काभ्रे । देशभर विभिन्न व्यक्तिको जग्गा कब्जा गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको माओवादीले काभ्रे सोमबार मात्र १५ सय रोपनी जग्गा कब्जा गरेको छ ।
सोमबार विप्लव माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चुडामणी गौतम ‘हेमक’ तथा जिल्ला सेक्रेटरी दुर्गासिं तामाङको नेतृत्वमा गएको समूहले जिल्लाको नयाँगाउँ गाउँ विकास समिति–८ ठुलीचौरमा रहेको करिब पन्ध्र सय रोपनी जग्गा कब्जा गरेको हो ।
उक्त जग्गा काठमाडौँ एग्रिकल्चर कन्सर्न नामक संस्थाको हो । जग्गा कब्जा गर्नका लागि माओवादीका नेता तथा कार्यकर्ता मोटरसाईकलमा नयाँगाउँ पुगेका थिए । उनीहरु जग्गाको चार कुनामा पार्टीको झण्डा गाडेर सदरमुकाम धुलिखेल फर्किएका थिए ।
उक्त जग्गा भू–माफियाहरुले २०४१ सालमा काठमाडौँ एग्रिकल्चर कन्सर्नका साथै पाँच वटा संस्थाको नाममा गरेको नेकपा माओवादीको आरोप छ ।
सार्वजनिक जग्गा कुनैपनि व्यक्ति वा संस्थाको स्वामित्व हुन नसक्ने भएकोले जनताको स्वामित्व जनताको नै हुने पार्टीको नीति अनुसार उक्त जग्गा कब्जा गरिएको चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी दुर्गासिं तामाङले बताए ।
सार्वजनिक जग्गामा कसैको स्वामित्व नहुने भन्ने आफ्नो पार्टीको नीति अनरुप जग्गा कब्जा गरिएको तामाङले बताए । उनले आफुहरु पार्टीको नीति अनुरुप अघि बढ्ने समेत बताए ।
यसअघि २०७० भदौ २६ गते नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी किसान संघ र अखिल नेपाल सुकुम्बासी संघको अगुवाइमा काभ्रेको चण्डेनी मण्डन गाउँ विकास समिति– १ मा रहेको शंकरमणी पौडेलको नाममा रहेको ४८ रोपनी जमिन र वालुवाको कर्केटारमा राणाहरुको नामा रहेको एक सय रोपनीभन्दा बढी र आँपघारीमा रहेको ४४ रोपनी जग्गा कब्जा गरेको थियो ।











