७ वैशाख, काठमाडौं ।
कोही त भने जहाजमा सरर,
कोही त भने पसिना तरर
हाम्रो नेपालमा …
जनवादी संगीतकार रामेश रायनहरुले वहुदलीय व्यवस्थापूर्वको असमानतालाई प्रस्तुत गर्दै तत्कालीन राल्फा समुहबाट गाएको यो गीत आजको सन्दर्भमा पनि ठ्याक्कै मिल्छ । किनभने २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो, २०६३ सालमा लोकतन्त्र र त्यसपछि गणतन्त्र आयो तर असमानता भने जहाँको त्यही रह्यो ।
पञ्चायती शासकहरु जहाजमा सरर हिंड्ने तर जनताले दिनरात पसिना बगाउँदा पनि आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तत्कालीन अवस्था र अहिलेको भिन्नता नहुनुको प्रमुख घट्ना हो जाजरकोटमा औषधी नपाएर जनता भकाभक मरी रहँदा भने प्रधानमन्त्री विदेश सयरमा निस्किनु ।
जाजरकोटमा दुई दर्जनभन्दा बढी मानिसको मृत्यु हुँदा समेत औषधी उपचारमा सक्रियता नदेखाएका प्रधानमन्त्री कोइराला सोमबार इन्डानेसियातर्फ लागेका छन् । उनको यो भ्रमणको सर्वत्र आलोचना भएको छ । भ्रमणको मात्र आलोचना हुनु औचित्यहीन भए पनि देशमा माहामारी फैलँदा ठूलो रकम खर्च गरेर प्रधानमन्त्री विदेश जानु आलोचनाको विषय बनेको हो ।
एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको १० औं वार्षिकोत्सवमा भागलिन प्रधानमन्त्री कोइराला सोमबार इन्डोनेसिया प्रस्थान गरेका हुन् । नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ बार्षिकोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ ।
नेपालले सन १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै सक्रिय रूपमा भाग लिँदै आएकोले यद्यपि यो सम्मेलन सहभागिताका हिसाबले महत्त्वपूर्ण नै छ ।
सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास बैरागी वैशाख ४ गते त्यसतर्फ गैसकेका छन् । दुवै बैठकमा विकासोन्मुख देशले भोग्नुपरेका समस्या, प्राकृतिक विपद, आतङ्कवाद, जलवायु परिवर्तन, दिगो आर्थिक एवम् सामाजिक विकास, गरिबी निवारण, सहस्राब्दी विकास लक्ष्य, महिला सशक्तिकरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ ।











