५ वैशाख, ललितपुर । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दोश्रो संविधानसभाबाट संविधान निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । ललितपुरको बुङ्मतीमा शनिबार बुङ्मती महोत्सव २०७२ को उद्घाटन गर्दै सभाध्यक्ष नेम्वाङले दलहरुबिच सहमति गर्दै संविधानसभाको प्रक्रियामार्फत संबिधान निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । दलहरुबिच सहमति हुन नसक्दा यसअघि प्राप्त उपलब्धीहरु पनि गुम्ने खतरा पैदा भएको उनले दावी गरे ।
सभाध्यक्ष नेम्वाङले ठूलो मेहनत गरेर प्राप्त भएको शान्तिलाई स्थायित्व दिनका लागि एकता आवश्यक रहेको धारणा व्यक्त गरे । उनले दलहरुलाई गम्भीर हुँदै संविधान लेखनमा अग्रसर हुन आग्रह गरे ।
उपत्यकाको प्रसिद्ध लामो जात्रा रातो मत्स्येन्द्रनाथको १२ वर्षे मेलाको अवसर पारेर वुधबारसम्मका लागि ललितपुर उद्योग वाणिज्य सङ्घ, कार्यविनायक नगरपालिका र बुङ्मती महोत्सव मूल आयोजक समितिको संयुक्त पहलमा महोत्सव गरिएको हो ।











