६ वैशाख, काठमाडौं । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको प्रशंसा गरेका छन् । लावतीले लेखेको आफ्नै आत्मकथाको विमोचन शनिरबार राजधानीमा गर्दै चन्दले उनी राष्ट्रवादी भएको दावी गरे ।
राप्रपाका असन्तुष्ट चन्द र राप्रपा नेपालका असन्तुष्ट लावती समुहबीच एकीकरण भई नयाँ पार्टी गठन हुने विश्लेषण भैरहेका बेला चन्दले लावतीको प्रशंसा गरेका हुन् ।
चन्दले पुस्तक विमोचन गर्दै राष्ट्रियता संकटमा परेको र विमोचित पुस्तकका लेखक लावती राष्ट्रियताप्रति सदैव सचेत र जिम्मेवार रहेको भनी प्रशंसा गरे । भावी पुस्ताले समेत लावतीको कृतिबाट राष्ट्र र समाजको पक्षमा धेरै सकारात्मक ज्ञान हासिल गर्न सक्ने चन्दले बताए ।
नेपाली राष्ट्रियता कमजोर भएको सहमति जनाउदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले लेखक लावतीले समेत आफ्नो जीवनीमा यसबारे चिन्ता प्रकट गरेको चर्चा गरे ।
लेखक तथा राजनीतिज्ञ लावतीले ६० वर्ष लामो राजनीतिको यथार्थ अनुभव भावी पुस्तामा हस्तान्तरण होस् भन्ने हेतुले जीवनी प्रकाशन गरेको दावी गरे ।
नीजी स्वार्थसिद्ध गर्न तीन ठूला दलका नेतृत्व लागीपरेकोले राष्ट्रियता तहसनहस भएको भन्दै लावतीले, यसमा सुधार होस्, नेपाली राष्ट्रियता सुरक्षित रहोस् भन्ने मान्यताले आफूहरुले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेको तर्क गरे ।
‘मेरो देश मेरो परिवेश’ प्रकाशित आत्मकथात्मक जीवनीमा आफ्नो बाल्यकालदेखिको राजनीतिक अनुभव समेटिएको लावतीले उल्लेख गरे ।
राप्रपाभित्रको असन्तुष्ट समूह र राप्रपा नेपालभित्रको असन्तुष्ट समूहबीचको आपसी प्रशंसा र सद्भावले यी दुई पक्षबीच एकता गर्ने तयारी भैरहेको विश्लेषण गरिएको छ ।











