४ वैशाख, काठमाडौं । आफूलाई नेपालको खलासी बताउने लक्ष्मण खड्काले रंगशालामा प्रधानमन्त्री सुशील कोइरालालाई कडा चेतावनी दिए । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिन रंगशाला पुगेका प्रधानमन्त्री कोइरालाको बाटो छेकेर खड्काले अब तिमीहरुले संविधान दिएनौ अब संविधान म बनाउँछु भन्दै चुनौति दिए ।
खड्काको भनाइ सुनेर प्रधानमन्त्री कोइराला मुसुमुसु हाँसे । कोइरालाका सुरक्षाकर्मी समेत केहीबेर हाँसे । खडकाले भन्दै थिए संविधान बनाउने जिम्मा मलाई देऊ म बनाउँछु संविधान ।
खडकाको एकोहोरो कुरा सुनेपछि प्रधानमन्त्री कोइरालाले हास्तै जवाफ फर्काए संविधान बन्छ लक्ष्मणजी, तपाई हामी सबै मिलेर संविधान बनाउने त हो नि ।
प्रधानमन्त्री कोइरालाभन्दा पहिले रंगशाला पुगेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि खड्काले चर्को स्वरले हकारेका थिए । अन्य व्यक्तिहरुलाई नै अनुचित लाग्ने गरी खड्काले संविधान नदिने भने पनि प्रचण्डले केही जवाफ फर्काएनन् ।











