४ वैशाख, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सिन्धुपाल्चोकका बवभिन्न गाविसमा ३ सय रोपनी जग्गा कब्जा गरेको छ । सिन्धुपाल्चोकको भिमटार गाविसका २, ३ र ५, बाँडेगाउँ गाविसका ५ र ९ तथा बतासे गाविस २ मा रहेको नेत्रविक्रम काजीको नाममा दर्ता भएका ३ सय रोपनी जग्गा विप्लव माओवादीले कब्जामा लिएको हो ।
माओवादी सशस्त्र युद्धका बेला कब्जा गरिएका जग्गा भूमाफीयाहरुले बेचबिखन गर्न लागेकोले जग्गा कब्जा गरेको नेकपा माओवादी सिन्धुपाल्चोक सेक्रेटरी कमल माझीले बताए ।
राजनीतिक द्वन्द्व समाधान भै नसकेको, भूमिसुधार ऐन अन्तर्गत कानुनी मान्यता पनि हदबन्दीभन्दा बढीको अवस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो ।
सामन्त जमिन्दार र भूमाफीया विरुद्ध वैज्ञानिक र क्रान्तिकारी भुमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने विप्लव नेतृत्वको माओवादीले जनाएको छ ।











