३ वैशाख, काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री एवंं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको निधनमा शोक व्यक्त गर्दै शुक्रबार सार्वजनिक विदा दिन निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले पूर्व प्रधानमन्त्री थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाको पार्थिव शरीर शुक्रबार पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने निर्णय गरेका हो । त्यसअघि थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मान र श्रृद्धाञ्जली व्यक्त गर्न दशरथ रंगशालामा अपरान्ह १ बजेदेखि केही समयका लागि राखिने छ । त्यसैगरी शुक्रबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको बुधबार राति उपाचारको क्रममा नया दिल्लीमा निधन भएको थियो । त्यस्तै बैठकले एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी को १०आँै वार्षिकोत्सवमा सहभागी हुन बैशाख ७ गते प्रधानमन्त्री सहितको ११ सदस्यीय टोली ईन्डोनेशियाको जकार्तामा प्रस्थान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले जाजरकोटमा फैलिएको रोगको नियन्त्रणका लागी उपचारमा समन्वयन गर्नका लागी मुख्य सचिवको नेतृत्वमा समन्वयन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
महालेखा नियन्त्रण शंकर प्रसाद अधिकारीलाई सरुवा गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।











