३ वैशाख, कैलाली । कैलाली जिल्लाको अत्तरियाको मनहेरा खोलामा डुबेर तीन बालिकाको ज्यान गएको छ। बिहिबार खोलामा नुहाउने क्रममा डुबेर बालिकाहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मनहेरा खोलामा डुबेर स्थानीय गोरे गिरीकी १३ वर्षीया छोरी करिश्मा गिरी, बझाङ बढिमालिका घर भइ हाल धनगढी बस्दै आएका नेपाल प्रहरीमा कार्यरत रमेश नाथकी छोरीहरु १२ वर्षीया अष्मिता नाथ र ८ वर्षीया अनिशा नाथको डुबेर ज्यान गएको हो । घरमा कोही नभएको बेला तीनै जना बालिकाहरु खेल्दाखेल्दै घर नजिककै छेउमा रहेको खोलामा नुहाउने क्रममा डुबेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय मालाखेती र औद्योगिक सुरक्षा बल अत्तरियाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाहरुको शव निकालेको थियो। तीनै जना बालिकाको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार रमेश नाथ एकिकृत नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री लेखराज भट्टका पिएसओ हुन ।













