उपचारका क्रममा दिल्लीमा दिवंगत भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर विहीबार साँझ नेपाल ल्याइएको छ । भारतीय वायु सेनाको विमानमार्फत उनको पार्थिव शरीर त्रिभुवन विमानस्थलमा ल्याइएको हो । नेपालका पूर्व प्रधानमन्त्रीलाई सम्मानस्वरुप भारत सरकारले भारतीय वायु सेनाको विमान उपलब्ध गराएको हो ।
थापाको पार्थिव शरीरलाई विमानस्थलबाट सिधै उनको निवास मालीगाउँमा लगिएको छ ।
उनको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि शुक्रबार रंगशालामा राखिने र शुक्रबार नै अन्तिम संस्कार गरिने भएको छ । थापालाई राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय सरकारले गरेको छ ।
थापाको शोकमा सरकारले शुक्रबार सार्वजनिक विदा दिइसकेको छ भने प्रधान
मन्त्री सुशील कोइरालाले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री कोइरालाले थापाको निधनबाट नेपालको राजनीतिक क्षेत्रले एक महत्वांकाक्षी, साहसी, दृढ र परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमाएको उल्लेख गरेका छन् ।











