२ वैशाख, भक्तपुर । भक्तपुरस्थित मध्यपुर ठिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।
जात्रामा सातौंपटक बोडेका ३४ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडेका छन् ।
उनले फलामको १० इन्च लामो सियोले जिब्रो छेडेका हुन् । लगातार ६ वर्षदेखि जिब्रो छेडाइरहेका बाँस श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न जिब्रो छेडेको बताएका छन् ।
यस्तै आजै मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले सिन्दूर जात्रा अर्थात् सुथः सिया पनि मनाएका छन् ।
ठिमीमा चैत्र मसान्तदेखि सुरु भएको बिस्केट जात्रामध्ये विशेषरुपमा मनाइने सिन्दुर जात्राका सुरुआतमा बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो भने बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको छ ।











