२ वैशाख, भक्तपुर । भक्तपुरको ठिमीमा वैशाख २ मा मनाइने सिन्दूर जात्रा आज मनाइएको छ । ठिमीका स्थानीय वासिन्दाहरुले बुधबार बिहान ३२ खट सहितको सिन्दुरे जात्रा मनाएका हुन्। स्थानीय भाषामा सुथः सिया भनिने उक्त जात्रा एक आपसमा सिन्दुर दलेर र छ्यापाछ्याप गरेर मनाउने गरिन्छ । मध्यपुर ठिमीमा विस्केट जात्राका क्रममा मनाइने जात्राहरु मध्येको एक जात्रा अन्तरग सिन्दुर जात्रा मनाइन्छ। सिन्दुर जात्रा परम्परागत रुपले ठिमीका स्थानीय नेवार जातिहरुले मनाउँदै आएका छन् ।
जात्राका अवसरमा बिहानै बालकुमारी र कालिकाको खट बालकुमारी मन्दिरबाट निकालिएको थियो । सिद्धिकालीको खट ल्याएर गणहरु सहित बालकुमारी प्रवेश गराएपछि जात्रा सुरु भएको हो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराउने परम्परा छ ।
यसका साथमा विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरूको खट पनि थपिन्छ । ३२ खट राखेर रथ घुमाई जात्रा गरिएको दृश्य निकै आकर्षक देखिन्छ । थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका नाममा खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली बालिन्छ ।
सिन्दुरे जात्रा समापनसँगै वैशाख २ गते दिउँसो मध्यपुर ठिमी स्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।











