२ वैशाख, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष प्रचण्डले गल्ती नसुधारे उनलाई साथ नदिने चेतावनी दिएका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए मात्र मोर्चा फेरि एकताबद्ध हुन सक्ने यादवले बताएका छन् ।
काठमाडौंमा बुधवार आयोजित साक्षात्कारमा बोल्दै यादवले आन्दोलन तुहाएर गरेको गल्ती सुधारे मोर्चा एकताबद्ध रहने दोहोर्याए । तर विपक्षी मोर्चाको तर्फबाट अघि सारिएको नौ बुँदे प्रस्तावबाट पछि हटेर आत्मसमर्पण गरे संकट उत्पन्न हुने उनको भनाइ थियो ।
प्रचण्डको भूमिकामा मोर्चाको भविष्य निर्धारित हुने स्पष्ट पार्दै चैत्र २४ गते गरेको गल्ती सुधार्नु पर्ने आवश्यकता यादवले औल्याए ।
उनले प्रचण्डले सत्ता र मोर्चा रुपी दुई नाउमा खुट्टा राखेकोकोले त्यसको परिणाम बाहिर आईसकेको दावी आरोप लगाए । अब प्रचण्डले आन्दोलन कि बार्ता मध्ये एक रोज्नु पर्ने धारणा समेत यादवले व्यक्त गरे ।
पाँच जिल्लाको विवादमा पनि प्रचण्डले कहिले मधेसमा हुनुपर्छ, कहिले जनमत संग्रह गर्नु पर्छ त कहिले केन्द्र शासित प्रदेश हुनु पर्छ भनेर दोहोरो चरित्र देखाइरहेको आरोप यादवले लगाए ।
यादवले बार्ताबाट आफूहरुको सवाल समाधान नहुने देखेपछि आन्दोलनमा गएको स्पष्ट पार्दै प्रचण्डले अरुलाई उपयोग गर्छन भन्ने थाहाँ हुँदा हुँदै पनि परिस्थितिका कारण आफूहरुले सहकार्य गरेको उल्लेख गरे ।
यादवले मधेसी अहिले पनि कमजोर नरहेको दावी गर्दै विजय कुमार गच्छारको एजेण्डा सत्ता र पैसा मात्रै भएकोले उनले आन्दोलन विरोधी कुरा गरेको आरोप लगाए ।
यादवले आगामी ६ गतेको लािग संविधानसभाको बैठक बोलाएको सन्दर्भमा बैशाख ५ गते बैठक बसेर ठोस निर्णय गर्ने बताए ।











