२ वैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । स्वाइन फ्लुका कारण तालेगाउँ ७ का ५८ वर्षीय दलबहादुर शाहीको बुधबार बिहान मृत्यु भएपछि मृतकको सङ्ख्या १७ पुगेको हो ।
सुरुमा रोगको पहिचान हुन नसके पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले महामारीकै रुपमा फेलिएको रोग स्वाइन फ्लु भएको मंगलबार पुष्टी गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको १२ जनाको थुकको नमुना परीक्षण गर्दा तीन जनामा स्वाइन फ्लु प्रमाणित भएको हो ।
दुई सातादेखि जाजरकोटमा मौसमी रुघाखोकीका रूपमा देखा परेको रोग स्वाइन फ्लुका कारण फैलिएको पुष्टि भएको छ । रोगका कारण मंगलबार मात्रै ४ जनाको मृत्यु भएको थियो ।
गाउँमा उक्त रोगको लक्षण भएका १ सय ५० भन्दा बढी बिरामी रहेको जनाइएको छ । बिरामीको संख्या दिनहुँ बढ्दै गए पनि पर्याप्त स्वास्थ्य टोली नपुगेको स्थानीयले बताएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्य टोली पुर्याउने काम गरे पनि सबै क्षेत्रमा यस्तो हुन सकेको छैन ।
टाढाटाढाका गाउँबाट मानिसहरुले आफन्तहरुलाई बचाउँदा बोकेर स्वास्थ्य चौकी तथा स्वास्थ्य टोली भएको स्थानमा पुगेका छन् । स्वास्थ्य चौकीमा पनि विरामीको चाप हुँदा उपचारमा समस्या भैरहेको छ ।
सरकारी अधिकारीहरूले भने पैंक, अर्छानी, टालेगाउँ, सक्ला, पजारु, नायकबाडामा फैलिएको रोेग नियन्त्रणमा रहेको दाबी गरेका छन् । रामीडाँडा, रोकायगाउँ, लह, कोर्ताङ, मजकोटलगायत गाविसमा पनि रोग फैलिएको स्थानीयले बताए । टालेगाउँ स्वास्थ्य चौकीका अहेब पेम्बा दोर्जे लामाले ज्वरो आउने, टाउको र छाती दुख्ने, बान्ता हुनेलगायत लक्षण भएका र कमजोर प्रतिरक्षा शक्तिका व्यक्तिको मृत्यु हुने गरेको बताए । उनका अनुसार यस्ता लक्षणका एक सय बिरामी उपचारका लागि दिनहुँ आउने गरेका छन् । नयाँ वर्षको पहिलो दिन मंगलबार बिदा भए पनि स्वास्थ्य संस्था खुला राखेर बिरामीको उपचार गरेको उनले बताए ।
सिजनल फ्लुबाट पैंक गाविसमा १०, अर्छानीमा १ र टालेगाउँमा ५ को मृत्यु भएको हो । टालेगाउँमा एकै दिन ४ जनाको मृत्यु भएपछि सदरमुकामबाट नेपाली सेनाका चिकित्सकको टोली मंगलबार नै त्यसतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । अहिले प्रकोपबाट सबैभन्दा बढी प्रभावित पैंक गाविसमा औषधिको कमी छ । काठमाडौं र नेपालगन्जबाट थप औषधि ल्याउन लागिएको बस्नेतले बताए ।
तापक्रम नबढे संक्रमण अझै केही दिन रहने विशेषज्ञहरुले जनाएका छन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जाजरकोटमा पानी पर्ने क्रम रहेको र अझै न्यूनतम तापक्रम ७, ८ डिग्री रहिरहेकोले यो संक्रमणको समय अझै लम्बिन सक्ने बताएका छन् ।
बेमौसमी वर्षा र कम तापक्रम हुने गरी मौसममा अचानक आएको परिवर्तनले स्वाइन संक्रमण फैलिन अनुकूल वातावरण बनिरहेको विशेषज्ञको दावी छ ।











