३० चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले २०७१ अन्तिम दिन सोमबार काठमाडौं सुन्धाराको धरहरा चढ्ने भन्दै पार्टी कार्यालयले पठाएको समाचार संकलनको निम्तोलाई नै हाँसोको विषय बनाएर सामाजिक संजालमा शेयर त भयो नै त्यो भन्दा बढी हास्यास्पद कुरा गरे ओलीले धरहरा चढेर ओर्लिएपछि । ओली धरहरा चढेको समाचारले खासै अर्थ नराख्ने भए पनि नयाँ वर्षको पूर्व सन्ध्यामा ओलीले नेपाली राजनीति वा संविधान निर्माणको विषयमा नयाँ केही बोलिहाल्छन् कि भनेर संचारकर्मीहरु दिनको चार बजे धरहरा पुगे ।
तर अनौठो कुरा उनले त्यस्तो नयाँ केही खुलासा गरेनन् बरु २०७२ सालमा लोकतान्त्रिक संविधान आउने दावी गर्दै त्यसैका लागि आफू ‘सगरमाथा चढेको’ बताए । अनि संचारकर्मीहरुले सगरमाथा चढेको बारे स्मरण गराएपछि उनले त्यसलाई सच्याउँदै धरहरा चढेको कुरा गरे । धरहरा चढेर उनले काठमाडौंमा मेलम्ची ल्याउने, बेरोजगारी हटाउने र लोडसेडिङ हटाउने विषयको पनि बोध भएको कुरा व्यक्त गरे ।











