२८ चैत, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सत्तारुढ दल र विपक्षीको ईच्छाशक्ति नभएका कारण नै सहमति हुन नसकेको आरोप लगाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ४९ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य महासंघ दिवसको शनिबार काठमाडांैमा उद्घाटन गर्दै सभाध्यक्ष नेम्वाङले सबै पक्षबीच अहिले धैर्यता आवश्यक रहेको बताए । सहमतिका लागि सबैले ईच्छाशक्ति देखाउनुपर्ने उनले बताए । दलहरुबिच सहमति हुन नसक्दा यसअघि प्राप्त उपलब्धीहरु पनि गुम्ने खतरा पैदा भएको उनको भनाइ थियो । उनले दलहरुलाई गम्भीर हँुदै संविधान लेखनमा अग्रसर हुन आग्रह गरे ।
सभाध्यक्ष नेम्वाङले ठूलो मेहनत गरेर प्राप्त भएको शान्तिलाई स्थायित्व दिनका लागि एकता आवश्यक रहेको आंैल्याए । सहमतिका लागि लामो समयसम्म पर्खंदा पनि दलहरुबीच कुनै सार्थक वार्ता र छलफल हुन नसकेकाले संविधानसभाको बैठक आह्वान गरिएको उनले बताए ।
दोश्रो संविधानसभाले पनि संविधान नलेख्ने हो कि भन्ने आशंका जनतामा पैदा भएको दावी उनले गरे ।











